चैत्र २०, काठमाडौं ।।
चैत्र २२ गते हुने सभामुख पदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल(डीपी अर्याल)ले दर्ता गरेका छन् ।
उनले शुक्रबार(आज) उक्त पदमा मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् ।
यस्तै सो पदमा नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने भएको छ । सत्तापक्षसँग संसद्मा बहुमतको अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।
तर यता, नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन । एमालेका सांसद गुरुप्रसाद बरालले आफूहरू अझैपनि छलफलमा रहेको बताए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १ सय ८२ सिट रहेको छ । यतिबेला रास्वपाको बहुमत भएकाले पनि अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ ।












