चैत्र २०, काठमाडौं ।।
इजरायल–अमेरिका र इरानबीचको युद्धसम्बन्धी अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार(आज) पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा साउदी अरेबियामा ४ जना, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा ३/३ जना तथा ओमानमा १ जना रहेका छन्। युद्धका क्रममा भइरहेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणसँग सम्बन्धित तस्बिर र श्रव्यदृश्य सामग्री खिचेर सामाजिक सञ्जालमा त्रास फैलाउने उद्देश्यले पोष्ट गर्नु ती देशहरूमा गम्भीर कानुनी अपराध मानिन्छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार ती नेपालीहरूलाई स्थानीय कानुन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको हो। “उनीहरू कुन कानुन अन्तर्गत पक्राउ परेका हुन् र कस्तो सजाय हुन सक्छ भन्नेबारे सम्बन्धित देशका दूतावासमार्फत विस्तृत जानकारी लिइँदैछ,” उनले बताए।
पक्राउ परेकाहरूको अवस्था बुझ्ने र सम्भव भएसम्म रिहाइका लागि पहल गर्ने काम दूतावास तथा नियोगमार्फत अघि बढाइएको मन्त्रालयले जनाएको छ।
युद्धको प्रभावका कारण रोजगारी गुम्ने जोखिमबारे उठेका चिन्तालाई सम्बोधन गर्दै प्रवक्ता क्षेत्रीले ठूलो स्तरमा त्यस्तो खतरा नरहेको स्पष्ट पारे। उनका अनुसार होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा केही अस्थिरता देखिए पनि व्यापक रूपमा रोजगारी गुम्ने अवस्था नभएको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन्।
त्यसैगरी खाडी मुलुकमा असुरक्षित महसुस गर्ने वा स्वदेश फर्किन चाहने नेपालीहरूको उद्धार कार्य निरन्तर जारी रहेको छ। मन्त्रालयले सञ्चालन गरेको ‘कल सेन्टर’मा उडानको अवस्था, घर फर्किने प्रक्रिया तथा श्रम स्वीकृतिबारे ठूलो संख्यामा जिज्ञासा आउने गरेको छ।
अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराइसकेका छन्। “असुरक्षित महसुस गर्नेको संख्या क्रमशः घट्दै गएको छ, र धेरैजसो अहिले सुरक्षित महसुस गर्दै पुनः काममै फर्किरहेका छन्,” प्रवक्ता क्षेत्रीले बताए। ट्रान्जिटमा अलपत्र परेकाहरूको उद्धार कार्य भने लगभग सम्पन्न भइसकेको पनि उनले जानकारी दिए।
समग्रमा, युद्धको संवेदनशील अवस्थामा गलत सूचना र अफवाह फैलाउने कार्यले गम्भीर कानुनी परिणाम निम्त्याउन सक्ने भएकाले सचेत रहन मन्त्रालयले सबैलाई आग्रह गरेको छ।












