सरकारको निर्देशन वैशाख २९ भित्र एसईई नतिजा आउने
  • प्रमुख खबर

वैशाख १, काठमाडौं ।।
माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो।

यसको लागि सोही अनुरुप अहिले काम काम भइरहेको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले समयमा नै नतिजा प्रकाशन गर्न अहिले जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको बताएका छन् । जसअन्तर्गत मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गर्ने कार्य भइरहेको उनले बताए ।

एसईई परीक्षा ०८२ चैत्र १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आउने क्रम जारी रहेको छ ।

हालसम्म ८ देखि १० वटा जिल्लाबाट मार्कस्लिप आइसकेको बोर्डले बताएको छ । अहिलेको सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुरुपनै हाल बोर्डमा सोही अनुरुप काम भइरहेको छ ।

विषेशगरी परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो ।

यसवर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

नेपाल भन्दा बाहिर जापानको एक केन्द्रबाट समेत २३ जनाले परीक्षा दिएका थिए । सबै गरेर सरकारले एसईई सञ्चालन गर्न १ हजार ९ सय ६६ केन्द्र कायम गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्