साउन १३, पोखरा ।।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन् ।
गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले गुरु र शिष्यबीचको सम्बन्ध विश्वास, अनुशासन, सम्मान, समर्पण र चरित्र निर्माणको रहने उल्लेख गरे ।
‘अधिकांश महान् व्यक्तित्वका पछाडि कुनै न कुनै प्रेरणादायी गुरुको मार्गदर्शन रहन्छ । गुरुको सम्मान केवल एउटा दिवस वा कार्यक्रममा मात्र सीमित हुनुहुँदैन ।’ उनले भने – ‘गुरुहरूले सिकाएका आदर्शलाई व्यवहारमा उतार्नु, उनीहरूप्रति सदैव आदर राख्नु र शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रूपमा ग्रहण गर्नु नै वास्तविक सम्मान हो ।’
शिक्षक र विद्यार्थीबीचको सौहार्दपूर्ण सम्बन्ध, श्रद्धा, सम्मानले नै विद्यालयको गुणस्तर वृद्धिमा पनि भूमिका खेल्ने उनको भनाई छ । ‘विद्यालयमा गरिने रचनात्मक कार्यहरुले नयाँ विद्यार्थीहरुलाई हौसलाका साथै शैक्षिक विकासमा पनि टेवा पुग्दछ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘आफ्ना बाल्यकालका स्मृतिहरूलाई ताजा गर्ने बहानामा मातृविद्यालयको हितका लागि सोच्नु, भाइबहिनीहरूको प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नु र विद्यालयको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्नु साँचो अर्थमा समाजसेवा पनि हो । आफूले प्राप्त गरेको ज्ञान, सीप र साधनलाई आफ्नै शिक्षाको जगको उन्नतिका लागि प्रयोग गर्नु नै असल नागरिकको पहिचान पनि हो ।’
कार्यक्रममा मञ्चले विद्यालय स्थापनादेखि २०४० सालसम्म अध्यापन गराएका शिक्षकहरूलाई सम्मान गरिएको थियो ।








