रास्वपाको सचिवालय बैठक आज: के के छन् त एजेन्डा ?
  • प्रमुख खबर

वैशाख ६,काठमाडौँ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।

पार्टीको संगठनात्मक विस्तार र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै बैठकका लागि ६ वटा प्रमुख एजेन्डा तय गरिएको छ। बैठकमा विशेषगरी ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत छलफल हुने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने विषयमा निर्णय लिने तयारी रहेको छ।

त्यसैगरी, पार्टीको आर्थिक पारदर्शिता सुदृढ गर्न बैंक खाता सञ्चालन र व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ। पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा गरिने मनोनयनबारे पनि निर्णय लिइनेछ।

यसपटक रास्वपाले नयाँ अभ्यासस्वरूप ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत बैठकको मुख्य एजेन्डामा समेटेको छ।
साथै, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग तथा लेवी व्यवस्थापनजस्ता विषयमा पनि विस्तृत छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्