जेठ २८,पोखरा।।
पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरतर्फ नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुने यस उडानका लागि टिकट बुकिङसमेत खुला भइसकेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो। करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको सक्रिय पहल तथा विभिन्न चरणका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखराको गौरवको परियोजनाका रूपमा चिनिन्छ।
यद्यपि सञ्चालनमा आएको लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन नसक्दा यसको प्रभावकारी उपयोगबारे प्रश्न उठ्दै आएको थियो। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू मात्र सञ्चालन भएका थिए भने भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसार गरिएको थियो।
अब भने दुबईका लागि नियमित उडान सुरु हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएको छ।
विमानस्थलसँग सम्बन्धित अधिकारी श्रेष्ठका अनुसार, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल पूर्वाधार परियोजना मात्र होइन, यो पोखरेलीहरूको दशकौँदेखिको सपना र संघर्षको प्रतिफल हो। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको थिएन, तर अब त्यो अवस्था अन्त्य भएको छ।”उनले थपे, दुबई उडानको सुरुवातले पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
उक्त उडानका लागि इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट वा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन्।पोखराबाट दुबईसम्मको नियमित हवाई सेवाले पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। साथै, दुबई हुँदै विश्वका विभिन्न देशहरूमा सहज हवाई पहुँच विस्तार हुने विश्वास पनि गरिएको छ।










