अषाढ १०,काठमाडौं।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि आज साँझ साढे ७ बजेदेखि मतदान सुरु हुने भएको छ।
पार्टीका प्रवक्ता मनिष झाले मतदान साँझ साढे ७ बजेदेखि सुरु हुने जानकारी दिएका हुन्। यसअघि आज बिहान ९ बजेदेखि नै मतदान सुरु गर्ने तयारी गरिए पनि विभिन्न कारणले ढिलाइ भएको हो।
केन्द्रीय सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली केहीबेरअघि सार्वजनिक गरिएको छ। सो नामावली सार्वजनिक भएसँगै मतदान प्रक्रिया अघि बढ्ने तयारी गरिएको पार्टीले जनाएको छ।
गत आइतबार (असार ७ गते) बाट सुरु भएको रास्वपाको महाधिवेशन असार ९ गतेसम्मका लागि तय गरिएको थियो। तर विभिन्न कारणले महाधिवेशनको समय लम्बिँदै गएको छ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको यो निर्वाचनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।










