भ्युजको लोभमा आचारसंहिता उल्लंघन बढ्दै: प्रेस काउन्सिलद्वारा कडा चेतावनी
  • प्रमुख खबर

अषाढ ९,काठमाडौं।।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताविपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत काउन्सिलले सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न आग्रह गरेको हो।

काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचरण र मर्यादाविपरीत गतिविधि बढ्दै गएका छन्। विशेषगरी अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत भ्युज र मोनिटाइजेसन केन्द्रित तथ्यहीन, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गर्ने प्रवृत्ति तीव्र बनेको काउन्सिलले जनाएको छ।

त्यसैगरी बिनाअनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था वा कार्यक्रममा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, दुर्व्यवहार तथा विवाद सिर्जना गर्ने र हातपातसम्मका घटनाका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने घटनामा वृद्धि भएको उल्लेख गरिएको छ।

यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता, गरिमा तथा स्थापित मर्यादामा नकारात्मक प्रभाव पारिरहेको काउन्सिलले जनाएको छ। काउन्सिलले सम्पूर्ण सरोकारवालालाई पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको पालनामा सजग रहन पुनः आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्