शुक्लाले मनायो जनकविकेशरी धर्मराज थापाको १०२ औं जन्मजयन्ती
  • प्रमुख खबर

साउन ०१,पोखरा ।।

साहित्यको उर्वरभुमि पोखराको बाटुलेचौरमा शुक्ला साहित्य प्रतिष्ठानले जनकविकेशरी धर्मराज थापाको १०२ औं जन्म जयन्तीको अवसरमा थापालाई स्मरण गर्दै कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जनकवि केशरी थापाको व्यक्तित्व र कृतित्वको चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शुक्ला साहित्य प्रतिष्ठानका मानार्थ सदस्य कवि कुञ्जराज थापा रहेका थिए । उनले लोक साहित्य र संस्कृतिको चर्चा गर्दै, यसको संरक्षण भएमात्र जनकविप्रति सच्चा स्मरण हुने बताए । धर्मराज सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले धर्मराज थापाको जन्मघरलाई कविकुञ्जको रुपमा विकास गरिएको बताए । उनले प्रतिष्ठानसँगको सहकार्यमा जनकवि केशरी थापाका अप्रकाशित कृति प्रकाशनसँगै यसको प्रवद्धन गरिने बताएका छन् ।

कार्यक्रममा थापाप्रति सर्मपित कविता बाचन गरिएको थियो। कविहरु मातृकाप्रसाद ढुँगाना, छविलाल आचार्य, मदनराज थापा, ईन्दु भट्टराई ,प्रकाश भट्टराई, रिता काफ्ले र शिशिर उजाडले लोक साहित्यसँग सम्वन्धित कविता वाचन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्य,प्रतिष्ठानका सल्लाहकार मदनराज थापा,पुर्व अध्यक्ष कुलबहादुर खत्री,जय मनकामना वचत तथा ऋण सहकारीका अध्यक्ष नवीन भण्डारी, जेष्ठ नागरिकका पूर्व कोषाध्यक्ष चित्रबहादुर थापालगायतले नेपाली साहित्यको विकासमा कवि थापाले पुर्याएको योगदानको चर्चा गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गीता भण्डारीले स्वागत गरेको कार्यक्रममा संचालन सहसचिव संजय थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्