पोखराका पाँच विद्यालयका २१ शिक्षकलाई स्वास्थ्य परीक्षण तालिम
  • प्रमुख खबर

असोज १६, पोखरा ।।

पोखराका पाँच विद्यालयका २१ शिक्षकलाई स्वास्थ्य परीक्षण तालिम सम्पन्न भएको छ । यङ्ग लिडर्स कोल्याबोरेसन फर ग्लोबल हेल्थ नेपाल (YLCGH Nepal) का सचिव डा. सुभाष पाण्डेको नेतृत्वमा पोखराका पाँच सरकारी विद्यालयका शिक्षकहरूलाई विद्यार्थीको उचाइ, तौल मापन तथा दृष्टि स्क्रिनिङ्ग सम्बन्धी तालिम प्रदान गरिएको छ। संस्थाको ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत असोज १४ र १५ गते संञ्चालित तालिममा प्रत्येक विद्यालयबाट ४-५ जनाका दरले कुल २१ शिक्षक सहभागी थिए। साथै सो कार्यक्रममा थप साहेता दिनकोलागी युके (U.K) देखि एमिजेन पार्कर र अस्ट्रिया (Austria) देखि भायालेन्टिना लुकास्सेर उपस्थित रहेको थियो ।

तालिममा श्री महेन्द्र माध्यमिक विद्यालय (घार्मी), श्री बिन्देश्वरी विद्यालय, श्री भारती भवन माध्यमिक विद्यालय (पुरनचौर), एल एन्जल स्कूल तथा श्री शान्त माध्यमिक विद्यालय (भकुन्डे) का शिक्षकहरूलाई कक्षा १ देखि ८ सम्मका विद्यार्थीको उचाइ र तौल सही तरिकाले मापन गर्ने, वृद्धि मूल्याङ्कन गर्ने, दृष्टि स्क्रिनिङ्ग गर्ने तथा नतिजा अभिलेख राख्ने विषयमा सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै डा. पाण्डेले भने, “हाम्रो लक्ष्य हरेक बालबालिकाले उचित पोषण पाऊन् भन्ने हो। स्वस्थ र पोषणयुक्त बालबालिका मात्र पढाइमा उत्कृष्ट हुन सक्छन्। कुपोषण, अधिक तौल वा दृष्टिसम्बन्धी समस्या समयमै पहिचान भए त्यसको समाधान सम्भव हुन्छ।”

डा. पाण्डेका अनुसार यो कार्यक्रम दिगो हुने गरी डिजाइन गरिएको हो। सुरुमा YLCGH Nepal को टोलीको सुपरिवेक्षणमा तालिमप्राप्त शिक्षकहरूले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नेछन्, र पछि विद्यालय आफैंले यसलाई नियमित रूपमा निरन्तरता दिनेछन्। “हामी सधैं विद्यालयमा पुगिरहन सक्दैनौं, तर शिक्षकहरू विद्यार्थीसँग दैनिक रहनुहुन्छ। त्यसैले यो क्षमता विद्यालयभित्रै निर्माण गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो,” उनले भने।

परीक्षणबाट प्राप्त तथ्याङ्क एउटा डाटाबेसमा सुरक्षित गरिनेछ, जसलाई विद्यार्थी, अभिभावक, विद्यालय तथा स्थानीय सरकारले हेर्न सक्नेछन्। “अभिभावकले आफ्नो बच्चाको वृद्धि नियमित हेर्न सक्नुहुन्छ, विद्यालयले आवश्यक कदम चाल्न सक्छ, र स्थानीय सरकारले यही तथ्याङ्कका आधारमा पोषण तथा स्वास्थ्य योजना बनाउन सक्छ,” डा. पाण्डेले बताउनुभयो। समस्या देखिएका विद्यार्थीलाई थप जाँच तथा उपचारका लागि सिफारिस गरिनेछ।

डा. पाण्डेले कार्यक्रम सफल बनाउन विद्यालय, अभिभावक र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा यसलाई थप विद्यालयहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिए । सन् २०१३ देखि सक्रिय रूपमा YLCGH Nepal स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रमा काम गर्दै आएको गैरनाफामूलक संस्था हो। संस्थाले हाल ललितपुर, मकवानपुर र कास्की जिल्लामा विद्यालय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र सो कार्यक्रम अन्य जिल्लामा पनि बिरतार गर्ने योजना रहेको कुरा डा. पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्