धर्मस्थलीमा छात्रवृत्ति वितरण तथा अन्तरक्रिया
  • प्रमुख खबर

पोखरा ।।
धर्मस्थली आधारभुत विद्यालयले विहिवार छात्रवृत्ति वितरण गरेकाे छ । विद्यालयले गरीब, जेहेन्दार, उत्कृष्ट र दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हाे ।

२०७९ सालको नेपाल सरकारबाट प्राप्त ६३ हजार २ सय रुपैयाँ छात्रवृत्ति १ सय ५८ जना दलित र छात्रालाई जनही ४ सय रुपैयाँका दरले वितरण गरिएकाे हाे ।

यस्तै विद्यालयले मानव धर्म सेवा तर्फको १० हजार रुपैयाँ छात्रवृत्ति ५ जनालाई वितरण गरेको छ ।


मानव सेवा धर्मकाे छात्रवृत्ति कक्षा ८ मा अभिनाश नेपाली, एस्टर नेपाली, कक्षा ७ का मल्दिका परियार, कक्षा ६ का सुस्मिता माझी र सुजन परियारलाई जनही २ हजार रुपैयाँका दरले प्रदान गरेकाे हाे ।


यस्तै विद्यालयले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थापनबारे अविभावक र व्यवस्थापन समितिसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पराजुलीले आफ्नो कार्यकालमा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्थानीय निकाय, संघसंस्थासँग समन्वय गरी दिवा खाजालाई निरन्तर दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष राम्जी प्रसाद वराल, समाजसेवी पान प्रसाद तिमिल्सिना, निर्मला पाण्डे, मिनु के. सी र लक्ष्मण अधिकारी लगायतले दिवा खाजा कार्यक्रमका लागि दाल, चामल, आटा, तेल, चना चिउरा आलु, प्याज, मसला आदि खाद्य वस्तु हस्तान्तरण गरे ।

प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद बरालले विद्यालयकाे चौतर्फी विकासका लागि वडा सधैं तत्पर रहेको बताए ।

विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा अधिकृत रामप्रसाद तिवारीले धर्मस्थली विद्यालय महानगरको उत्कृष्ट ५ विद्यालयमा परी सम्मानित भएकोमा बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट होस् भनी शुभकामना दिए ।

प्रधानाध्यापक बदन कुमारी शर्माले विद्यालयको गतिविधि प्रस्तुत गरेका थिए । विद्यालयले २०८० को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल पनि विहिवार नै प्रकाशन गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्