पोखरा ।
दुर्घटना भएको लगभग एक महिना हुनै लाग्दा सो विमान दुर्घटना अवतरण गर्ने क्रममा दुवै इन्जिनका प्रोपेलर फेदर (निश्चित डिग्री अनुसार छड्के नभइ ९० डिग्री हुनुपर्ने) भएर दुःखद घटना घटेको जाँच आयोगले जनाएको छ ।
सो दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको आयोगले जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्दा प्रोपेलर फेदर नै दुर्घटनाको कारण भएको देखिएको जनाएको हो । जाँच आयोगका सदस्य–सचिव बुद्धि सागर लामिछानेले एक विज्ञप्ति जारी गर्दै जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा जानुको कारणबारे आयोगले प्राविधिक र मानवीय पक्षहरुबारे थप अनुसन्धान अगाडि बढाइसकेको जानकारी दिएका छन् ।
हाल फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको विश्लेषण र अनुसन्धान सिङ्गापुरमा रहेको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेशन व्युरोमा गरेको हो । तर छानविनको अन्तिम प्रतिवेदन भने अझै आउन केही समय लाग्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।माघ १ गते भएको उक्त विमान दुर्घटनामा ६८ यात्रु र चालकदलका ४ जना गरी ७२ जनाको ज्यान गएको थियो ।