नयाँ वर्षका अवसरमा शैक्षिक सामाग्री सहयोग
  • प्रमुख खबर

पोखरा ।।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ ।

पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिएका छन् ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उनले बताएका छन् ।

नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको बताए ।

पोखरा पर्यटन परिषद्का साथै पर्यटन सम्बद्ध संघ संस्थाका पर्यटन प्रवद्र्धनका कार्यक्रममा संस्थाको निरन्तर रुपमा सकृय सहभागिता रहने उनले विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकहरूको आकर्षणले उत्साह थपेको बताउँदै २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गरेका छन् ।

पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उनले प्रशंसा गरेका छन् ।

कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्