पोलियो रोगबिरुद्धको आई.पि.भी खोप अभियान भाेलिबाट सुरुहुने
  • प्रमुख खबर

पाेखरा ।।

गण्डकी प्रदेशमा पोलियो रोगबिरुद्धको ईनएक्टिभेटेड पोलियो भ्याक्सिन (आई.पि.भी) खोप अभियान सञ्चालन हुने भएको छ ।

पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आई.पि.भीं खोप अभियान अन्तर्गत यस प्रदेशमा पनि जेठ १३ देखि २६ गतेसम्म याे खोप अभियान सञ्चालन हुने भएको हाे ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशका ११ जिल्लामा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाउन लागेको जानकारी दिएको हाे ।

आई.पि.भी. खोप अभियानका लागि गण्डकीका ११ जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र निर्धारण गरिएको छ भने ६ हजार ९ सय ६ जना स्वयम्सेविका खटाईने सामाजिक विकास तथा स्वास्थ्य निर्देशनालय गण्डकीका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिएका छन् ।

उनका अनुसार आई.पि.भी.खोप अभियान अन्तर्गत सबै बालबालिकालाई भने खोप नलगाईने बताएका छन् । तर वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.पि.भी.खोप लगाइनेछ भएको हाे ।

त्यस्तै अभियान अन्तर्गत खोप लगाईने बालबालिकाहरुलाई विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए ।

पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.भि.पी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधिसम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए ।

उनले दिएकाे जानकारी अनुसार २ हप्तासम्म सञ्चालन हुने यस अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने जानकारी दिए ।

यस्तै मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९, तनहुँमा १४ हजार ५ सय १२ र बागलुङमा ११ हजार ७ सय ७७ जना बालबालिकालाई आई.पि.भी.खोप लगाईंदैछ ।

त्यस्तै, स्याङ्जामा १० हजार १ सय ४५, गोरखामा ८ हजार ५ सय ३९, लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय, म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई आई.पि.भी.खोप लगाईदैछ ।

मन्त्रालयले गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा खोप अभियान सम्बन्धि गोष्ठी, स्वास्थ्यकर्मी, स्वयंसेवक र विद्यालयका शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

खोप अभियानका लागि आवश्यक सामग्री र खोप प्रदेशको सबै जिल्लामा पुगीसकेको समेत मन्त्रालयले जनाएको छ ।

नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र प्राप्त गरेपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले याे खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्