पोखरा ।।
परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने भएको छ । आज बिहान बोर्डको बैठकले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिनेछ । आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्नुपर्नेछ । गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा प्रकाशन भएको १ महिनापछि २ विषयसम्म एनजी आउनेले मौका परीक्षामा सहभागी हुन पाउने (पुरक) व्यवस्था रहेको छ । दुईभन्दा बढि विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ । पुनर्योगका लागि परीक्षार्थीहरुलाई अनलाइन मार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जस अनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयहरुको लागि यस कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्नेछन्।
हेर्ने तरिका:
परीक्षाफल www.see.gov.np , www.neb.gov.np , www.see.ntc.net.np लगायतका वेवसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा कल गरेर सुन्न सकिन्छ भने एसएमएस गर्दा SEE <space> SYMBOL NUMBER टाइप गरेर १६०० मा पठाउन सकिन्छ।