पाेखरा ।।
गण्डकी प्रदेशको प्रेस रजिष्टारमा बिमला भण्डारी नियुक्त भएकी छन् । उनी गण्डकी प्रदेशको पहिलो प्रेस रजिष्टार बन्न सफल भएकी हुन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अाज भण्डारीलाई प्रेस रजिष्टारको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण गरेलगतै अाजै उनले कार्यभार समालेकी छन् ।
गण्डकी प्रदेश सरकारले प्रेस रजिष्टार नियुक्त गर्न आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।
समितिले लिखित प्रस्तावना र अन्तर्वार्ताको माध्यमबाट मन्त्रिपरिषदलाई ३ जनाको नाम सिफारिस गरेको थियो ।
छनोट समितिले गरेको सिफारिसका आधारमा गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई रजिष्टार नियुक्त गर्ने निर्णय गरेको थियो।
प्रदेश सभाले गत वर्ष नै ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ पारित गरेको थियो।सोही ऐनमा प्रदेशमा प्रेस रजिष्टार नियुक्तिको व्यवस्था छ।
ऐनमा प्रेस रजिष्टारले प्रदेशका आमसंचार माध्यमको नियमन गर्ने, सञ्चार माध्यमको दर्ता, नविकरण, सञ्चार मन्त्रालयमा सञ्चार माध्यमको वार्षिक विकास कार्ययोजना पेश गर्ने, सञ्चार माध्यमको वर्गीकरण, सञ्चार माध्यमलाई सुविधाका लागि सिफारिस गर्ने लगायतका काम, कर्तव्य र अधिकार तोकिएको छ।
कार्यभार सम्हालेपछि रजिष्टार भण्डारीले श्रमजिवी पत्रकारको हकहित संरक्षण, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आचारसंहिता पालनामा जोड दिने बताइन ।