पोखराको बजार अहिले एक प्रकारको मौनतामा छ। कुनै समय यहाँको चहलपहल, व्यापारिक चटारो, र पर्यटकहरूको हाँसोले बजार जीवन्त हुन्थ्यो। तर, अहिले अधिकांश पसलहरूमा “सटर भाडामा छ”, “फ्ल्याट भाडामा छ” भन्ने साइन बोर्ड टाँगिएको देख्दा मनमा एक किसिमको उदासी छाउँछ।बजारका गल्लीहरूमा मात्र नभई महेन्द्रपुल, चिप्लोढुङ्गा, पृथ्वीचोक, लेकसाइड लगायतका पोखराका मुख्य बजारमा समेत ‘सटर भाडामा छ’ लेखिएका बोर्डहरू देखिनु सामान्य भइसकेको छ।
कुनैबेला यी मुख्य बजारहरूमा सटर खाली नै हुँदैनथ्यो र कसैले बाध्यताले आफ्नो व्यापार छोडिहाल्यो भने पनि उसले छोड्नुभन्दा अगाडि नै त्यो सटर बुकिङ हुन्थ्यो। सटर तथा फ्ल्याट भाडामा छ भनेर टाँस्नु नै पर्दैनथ्यो।पोखराको यत्रो ठूलो व्यापारिक क्षेत्र एकाएक सुनसान हुन थालेको छ।
व्यापार घटेको मात्र होइन, मानिसहरूको सपना पनि ओइलाउँदै गएका छन्। पर्यटन व्यवसायमा आएको मन्दी, आर्थिक मन्दी, र डिजिटल युगमा सानो–सानो व्यापार गर्नेलाई परेको असरले पोखराका सटरहरू बन्द हुन पुगेका छन्। कतिपय व्यापारीहरू ऋणको भारी बोकेर आफ्नो पसलको चाबी घरधनीको झोलामा राख्न विवश छन्।
व्यापार मात्र होइन, सपनाहरू भत्किए पोखरामा व्यापार चलाउनु भनेको केवल नाफाको कुरा होइन। यहाँका सटरहरूसँग व्यापारीहरूको सपना, परिवारको भविष्य, र वर्षौंदेखि जुटाउँदै गरेको पसिनाको कमाइ जोडिएको छ। जब एउटै परिवारको दुई पुस्ताले चलाएको पसल बन्द हुन्छ, त्यो केवल एउटा सटरको बन्दी होइन, त्यहाँ जोडिएको इतिहासको समाप्ति हो।
किन यस्तो हुदैछ?
वैदेशिक रोजगारीको मोहले यहाँका व्यवसायीलाई व्यापार छोड्न बाध्य बनाएको छ। नाफा कम हुँदै गएपछि, धेरैले आफ्ना पसल बन्द गरी विदेशमा रोजगारीको बाटो रोजेका छन्। व्यवसायको घट्दो बिक्री, बढ्दो महँगी, र ग्राहकहरूको कमीका कारण धेरैजसो साना तथा मझौला व्यापारीहरू मारमा परेका छन्।
पोखराको मुख्य बजारहरू—चिप्लेढुंगा, महेन्द्रपुल, र न्युरोडमा दिनदिनै सटरहरू खाली हुँदै गएका छन्। एक समय जहाँ ग्राहकको भिडभाड हुन्थ्यो, आज ती ठाउँहरू शून्य छन्। व्यवसायीहरूले सटर भाडामा राख्न बाध्य हुनुको मुख्य कारण भनेकै घाटामा गएको व्यापार हो।
अर्को ठूलो समस्या भनेको महँगी र सरकारी नीतिहरू हुन्। करको उच्च दर, सामानको मूल्यवृद्धि, र प्रतिस्पर्धाले व्यवसायीलाई झन् निराश बनाएको छ। यस्तो अवस्थामा, व्यवसायलाई निरन्तरता दिनुभन्दा विदेश गएर स्थिर आम्दानी गर्ने विकल्प रोज्नेको संख्या बढिरहेको छ।
युवाहरू वैदेशिक रोजगारीमा जानुको असर केवल व्यवसायमा मात्र परेको छैन,पोखराको समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको छ। स्थानीय उत्पादन र व्यापार साना व्यापारीहरूको भरमा चल्ने हुँदा, जब सटरहरू बन्द हुन्छन्, यसले धेरैलाई रोजगारीबाट वञ्चित गराउँछ।
कोरोना महामारीपछि पुनः उठ्न नपाएका व्यापारीहरू अझै पनि पुरानै सङ्घर्षमा छन्। बढ्दो महङ्गी, बैंकको ऋण तिर्नुपर्ने चाप, र ग्राहकको घट्दो चहलपहलले गर्दा धेरैले आफ्नो व्यापार धान्न सकेका छैनन्।आज सटर भाडामा छ, भोलि आशा छ कि त्यो सटर भरिएला। तर, त्यसका लागि व्यवसायीहरूको सहयोगी नीति, लगानीकर्ताहरूको हौसला, र हामी उपभोक्ताहरूको साथ जरुरी छ।
आशाको दियो निभ्न दिनु हुँदैन
यस समस्याको समाधानका लागि स्थानीय सरकार र सम्बन्धित निकायहरूले समयमै पहल गर्नुपर्छ। व्यवसायीलाई प्रोत्साहन दिन, करको भार घटाउन, र बजारलाई चलायमान बनाउन सहुलियत प्रदान गर्नुपर्छ। युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न प्रोत्साहित गर्न व्यावसायिक तालिम र वित्तीय सहायता कार्यक्रमहरू आवश्यक छन्।
सटरमा झुन्ड्याइएको “भाडामा छ” को साइनलाई निराशाको संकेत नभई, एउटा नयाँ सुरुवातको प्रतीक बनाउन पर्छ,स्थानीय उत्पादनलाई प्राथमिकता दिनु पर्छ। साना व्यापारीहरूको सम्मान गरौँ, र पोखराको बजारलाई फेरि चहकिलो बनाऔं। व्यापार चल्नु भनेको समाज चल्नु हो, र समाज चल्नु भनेको आशा बाँध्नु हो।व्यवसायी, सरकार, र स्थानीय समुदायको सहकार्यले मात्र ‘सटर भाडामा छ’ भन्ने बोर्डहरू हटाउन सकिन्छ।
“सटर भाडामा छ” को साइन टाँस्ने दिन घटाउँदै, नयाँ पसल खोल्ने उत्साहपूर्ण दिनहरूलाई स्वागत गरौँ। ताकि पोखराको बजार फेरि जीवित रहोस्, र हाम्रा सपनाहरू फेरि मुस्कुराउन सकून्।