सहकारी ठगीमा प्रकाउ परेका पूर्वगृहमन्त्री लामिछानेसहित पाँच जनाको बयान शुरु
  • प्रमुख खबर

पाेखरा ।।
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरु भएको छ ।

न्यायाधीस नितिज राईको इजलाशमा रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल, लिला पछाइ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङको बहस शुरु भएको हो ।

उनीहरुविरुद्ध अाइतबार सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । बयान सक्न एक, दुई दिन लाग्ने र त्यसपछि थुनछेकको बहस हुने जिल्ला अदालतले जनाएको छ ।

थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् ।

यसअघि अाइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

पूर्वगृहमन्त्री लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा रु ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी मुद्दा दायर गरिएको छ ।

प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग रु २४ करोड ६७ लाख ७ हजार २४ बिगो दाबी गरिएको छ ।

त्यस्तै सहकारी ठगीतर्फ लामिछानेलाई रु ३ करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु २ करोड १४ लाख ८ हजार ८ सय ४३ बिगो माग गरिएको छ ।

यस्तै सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्