पोखरा ।।
पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ।
सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रतिनिधिहरु पोखरामा आउने क्रम चलिरहेको जन अभियानका पूर्व केन्द्रीय अध्यक्ष सन्तबहादुर घिसिङले जानकारी दिए।
पोखराको नदीपुरस्थित थकाली समाज घरमा शनिबारसम्म चल्ने उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ भने वातावरणीय संरक्षण, दिगो विकास, र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने जन अभियानका पूर्व केन्द्रीय अध्यक्ष घिसिङले बताए।
उक्त सम्मेलनमा देशभरका करीब दुई सय जना प्रतिनिधिहरु सहभागी हुने बताइएको छ।
सम्मेलन शुरु हुनु पूर्व शुक्रबार बिहान ८ बजे पोखराको न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट प्रभातफेरी शुरु भै नदीपुरस्थित थकाली समाजघरसम्म पुग्नेछ।
यो सम्मेलनले आजको समयमा मानव र प्रकृतिका लागि साझा चुनौतीहरूको समाधान खोज्न तथा नयाँ वैकल्पिक सामाजिक व्यवस्थाको आधार खडा गर्न वातावरणीय संकट र जलवायु परिवर्तनको सामना गर्ने उपायहरू, जैविक विविधताको संरक्षण र दिगो विकासका रणनीति, मानवताको दीर्घकालीन कल्याणका लागि वैकल्पिक सामाजिक नीति निर्माण, प्रकृति-मानव हितैषी समाज निर्माणका लागि सामूहिक संकल्प केन्द्रित बहस गर्ने आयोजक पक्षले जानकारी दिएको छ।
सम्मेलनमा बिशेष गरि वातावरणीय र मानव संकटबारे विशेषज्ञहरूको विशेष प्रस्तुति, समूह छलफल, नयाँ रणनीति निर्माण, र भावी कार्ययोजना बारे छलफल हुने प्राप्त जानकारीमा उल्लेख छ।
सन् २००२ मा स्थापना भएको प्रकृति-मानव केन्द्रित जन अभियान ले विगत २२ वर्षमा नेपाल र सार्कस्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय चेतनाको जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
नेपालमा यसअघि पाँच वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको यो अभियानले छैठौं सम्मेलनमार्फत भविष्यका लागि थप प्रभावकारी योजना ल्याउने लक्ष्य राखेको छ।












