गाेरखा ।।
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज बताएका छन् ।
गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्दै उनले साे कुरा बताएका हुन् ।
स्वस्थ्य नागरिक र स्वस्थ्य जनशक्ति भएन भने भौतिक पूर्वाधारको उपयोग कोरा कल्पना मात्रै हुने भएकोले प्रदेश सरकारले पहिलो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भनी यस प्रकारकाे कार्यक्रम ल्याएकाे बताए ।
उनले स्वास्थ्य क्षेत्रका सुधारका लागि कुल बजेटको कम्तीमा पनि १० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा सरकार प्रयत्नशील समेत रहेको बताए ।
उनले जनताको स्वास्थ्यसँग सरकार संवेदनशील रहेको उल्लेख गर्दै किड्नीका बिरामीले डायलासिसका लागि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गरिएको बताए ।
मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले नसर्ने रोगका बिरामीको स्क्रिनिङ सेवा गाउँ-गाउँमा पुर्याएकाे बताउँदै रोगको जोखिम पहिचान गरेर समयमै अस्पतालसम्म पठाउने गरिएको पनि उल्लेख गरे ।
जनताले विकासको माग गर्दा विशेषगरी स्वास्थ्यमा भन्दा सडक पूर्वाधारमा बढी हुने गरेको तर स्वास्थ्य सेवाको गुणस्तर बढाइदिनुस्, स्वास्थ्य चौकीका लागि बजेट विनियोजन गरिदिनुस् भनेर बजेट कमैले मात्र माग्ने गरेकाे जनाए ।
उनले स्वास्थ्य क्षेत्रको विकासका लागि जनता आफैँ पनि जागरुक हुन आवश्यक स्पष्ट पारे ।