पोखरा ।।
पोखरा बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आज क्याम्पसमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक होत बहादुर रोकाहाले सहजीकरण तथा प्रशिक्षण दिए । कानुनले गर्न नहुने भनेका सबै कुरा अपराध हुनी भन्दै उनले भने ” साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्याउने एउटा सामाजिक अपराध हो ।”
प्रहरीले विद्यार्थीहरुलाई लक्षित गरेर गरेको कार्यक्रम
साइबर अपराध हुनुका कारण, यसले पार्ने नकारात्मक प्रभाव, यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदम र कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो ।
सहजीकरणका क्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक रोकाहाले पछिल्लो समय कास्कीमा मात्र नभई देशभरि साइबर अपराध बढेको बताए । ” रोजगारीको प्रलोभन, विभिन्न लट्री पारेको भनी, ह्याक, सामाजिक सञ्जालको फेक अकाउन्ट खोली लागायतका गतिविधिबाट ठगीमा परेका घटना धरै आउँछन् । ” उनले भने – “विश्वास गरेर कुनैपनि पासवर्ड अरुलाई नदिने, नचिनेको कोहीसँग सामाजिक सञ्जालमा साथी नहुने, स्पष्ट र श्रोत नखुलेको सूचना ,समाचार शेयर नगर्ने गर्नु पर्दछ । ”
कार्यक्रम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्याम बाबु ओलीयाले सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण साईबर अपराध बढेको र ज्यानै पनि गएका घटना बारे बताए । उनले भने -” साईबर अपराध न्यूनीकरणका लागि स्वयं सचेत हुन सक्नु पर्छ । यदि कसैले सामाजिक सञ्जाल ह्याक , ब्ल्याक मेल वा त्यता कुनै पनि गतिविधि गर्छ भने प्रहरीमा उजुर गर्नु । समाधानको पहल गरिन्छ ।”
क्याम्पस प्रमुख शिशुकला पराजुलीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत महत्त्वपूर्ण र जिवन उपयोगी शिक्षाको लागि जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख श्याम बाबु ओलिया, प्रशिक्षक प्रहरी वरिष्ठ नायब निरीक्षक होत बहादुर रोकाहा र प्रहरी हवल्दार भीम काफ्लेलाई धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा सहभागी विद्यार्थीको प्रतिनिधित्व गर्दै व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत विद्यार्थी संकल्प थापाले आफू पनि अनलाइन व्यवसायको सक्याममा परेको अनुभव सुनाउँदै यस्तो तालिम तथा प्रशिक्षण सबै उमेर समूहका लागि आवश्यक भएको बताए ।
साईबर अपराध सम्बन्धी विभिन्न सचेतना मुलक भिडियो सन्देश देखाउदै गरिएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत ७० जना विद्यार्थी र शिक्षकहरुको सहभागिता थियो ।