वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम
  • प्रमुख खबर

पोखरा ।।
विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम भएकि छन् ।

प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय भईन भन नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गरिन् ।

त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गरे ।

प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र १/१ हजार रुपैयाँसहित प्रमाण-पत्र प्रदान गरिएको छ ।

केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले उनीहरुलाई सूर्य—प्रेम पुरस्कारबाट पुरस्कृत गरे ।

कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आँफैमा महान ग्रन्थ भएको बताए ।

यस्तै विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताइन् ।

त्यस्तै विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे ।

पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उनले जानकारी दिए ।

निर्णायक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

उनले हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै यो धर्म नै सनातन धर्म भएको बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्