पाेखरा ।।
पृथ्वीनारायण (पिएन)क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार(आज)भएको निर्वाचन सम्पन्न भएको छ ।
पहिलाे पटक गत चैत ५ र दाेस्राे पटक चैत ६ गरेर दुई पटक स्थगित भएको निर्वाचन आज सभ्य रुपमा सम्पन्न भएको हाे ।
कुल ९ हजार २ सय ७० जना मतदाता रहेकाे यस क्याम्पसमा २ हजार ८ सय ९७ मत खसेको छ ।
वि.सं २०६५ सालमा भएको स्ववियु निर्वाचनपछि यस क्याम्पसमा निर्वाचन हुन सकेकाे थिएन । त्यसको १६ वर्षपछि बल्ल निर्वाचन भएको हाे ।
यस क्याम्पसको स्ववियु अध्यक्ष बन्न ८ जनाको उम्मेदवारी छन् । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र उम्मेदवारकाे रुपमा हुन् । यस्तै बाँकी ६ जना भने राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
त्यस्तै समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन र अखिल क्रान्तिकारी (वैद्य)का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।