आन्दोलनरत शिक्षकहरूका मागप्रति कांग्रेस गम्भीर:शेरबहादुर देउवा
  • प्रमुख खबर

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न पार्टी गम्भीर रूपमा लागेको बताएका छन्।

बूढानीलकण्ठमा नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग भएको छलफलमा सभापति देउवाले शिक्षकहरूको मागहरू प्रति संवेदनशील हुँदै सरकारले विगतमा गरेका सहमति कार्यान्वयन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिए।

उनले शिक्षकका आवाजलाई सुन्नु र समाधान खोज्नु आवश्यक रहेको बताउँदै कांग्रेसले सरकारसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए।

नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई सरकारले वार्ताका लागि बोलाइसकेको छ। यसअघि कांग्रेसका शिक्षा विभाग प्रमुख रामहरि महरले पनि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए।

सभापति देउवाले शान्तिपूर्ण आन्दोलनलाई लोकतान्त्रिक अधिकारका रूपमा सम्मान गर्नुपर्ने धारणा राख्दै शिक्षा क्षेत्रको सुधार शिक्षकको सम्मानबाट नै सुरु हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्