कास्की प्रहरीद्धारा ८२ तोला सुनको गरगहना सहित दुई जना पक्राउ
  • प्रमुख खबर

पोखरा ।।
कास्की प्रहरीले भारतबाट अवैध रुपमा ठूलो मात्रामा पोखरा भित्राएको सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुले भारतबाट अवैध रुपमा पोखरामा बिक्री गर्ने उद्देश्य सहित ल्याएको ८२ तोला १६ लाल सुनसहित पक्राऊ गर्न सफल भएको शनिबार कास्की प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

पक्राउ पर्नेमा भारतको अमृतसर निवासी ४९ वर्षिय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बि.क रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट बरामद गरेको ८२ तोला १६ लाल सुनका गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको छ ।

बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसुत्र र पोतेलगायत रहेको समेत कास्की प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार वि.क को भारतीय नागरिक सिंहसँग सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि नै सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको बताइएको छ ।

वि.क ले आफूले केहि रकम पाउने आशाले सिंहलाई सहयोग गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ।

अवैध रूपमा ल्याइएको सुन भएको कारण बिक्री गर्न नसक्दा सिंह सिद्दार्थ राजमार्गहुँदै बुटवलतर्फ जाँदै गर्दा पोखरा–२२ पुम्दीभुम्दीमा गाडी खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका दुवैलाई जनालाई थप अनुसन्धानका लागि गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, काठमाण्डौं पठाइने समेत पत्रकार सम्मेलन मार्फत कास्की प्रहरीले जानकारी दिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्