पोखरा//
गायिका एलिना चौहान र समीक्षा अधिकारीद्वारा सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्नेहरूविरुद्ध सुरु गरिएको ‘भण्डाफोर अभियान’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर समर्थन जनाएका छन्।
प्रधानमन्त्री ओलीले दुवै गायिकाको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनीहरूलाई “साहसी छोरीहरू” भनेर सम्मान व्यक्त गरेका छन्। उनले अभियानलाई सही पहल भन्दै, यस्तो कदमले समाजमा व्याप्त गालीगलौज र नकारात्मक मानसिकता विरुद्ध सशक्त सन्देश दिने उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले लेखेका छन्, “आफू राम्रो देखिन अरूको दोष खोज्ने, निरन्तर विरोध गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई जोगाउन आवश्यक छ। समीक्षा र एलिनाले जुन तरिकाले प्रतिक्रिया दिएका छन्, त्यो विवेकपूर्ण र प्रेरणादायी छ।”
ओलीले सामाजिक सञ्जालमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै भने, “राम्रो गर्न खोज्नेहरूमाथि निरन्तर गाली हुने प्रवृत्ति अति भइसकेको छ। सकारात्मक पहलकर्ताले हिम्मत हार्नु हुँदैन।”
गायिकाहरूले आफ्ना सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गर्ने प्रयोगकर्ताहरूको कमेन्ट र प्रोफाइल सार्वजनिक गर्दै, अनलाइन दुव्र्यवहारविरुद्ध स्पष्ट सन्देश दिएका छन्। प्रधानमन्त्रीको समर्थनपछि यो अभियान थप सशक्त र चर्चाको विषय बनेको छ।











