काठमाडौं ।।
रसुवामा रहेको नेपाल–चीन सीमाको लेन्डेखोलामा आएको भीषण बाढीले ठूलो जनधनकाे क्षति भएको छ। उक्त बाढीमा परी कम्तीमा १८ जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा ३ जना नेपाल प्रहरी, ३ जना सवारी चालक, ६ जना नेपाली मजदुर र ६ जना चिनियाँ नागरिक रहेका छन्। बेपत्ता भएकाहरुकाे भने खाेजी कार्य जारी रहेकाे रसुवाका डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
प्रवेश मार्ग बन्द, संरचनामा क्षति
यस्तै बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको छ भने रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य सवारीसाधनहरू पनि बगाएको डिएसपी शाहीले बताए ।
बाढीका कारण विद्युतीय गाडीको चार्जिङ स्टेशनमा समेत क्षति भएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक बन्द भएको छ ।
नुवाकोटसम्म असर, उद्धार कार्य जारी
लेन्डेखोलामा आएको बाढीको प्रभाव नुवाकोटसम्म पुगेको छ। पानीको सतह घट्न थालेको भए पनि जोखिम कायमै रहेको जनाइएको छ।
बाढीमा फसेका व्यक्तिहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। साथै, निजी हवाई सेवा प्रदायक कम्पनीहरूको सहयोगमा टिमुरे क्षेत्रबाट उद्धार कार्य पनि जारी छ।
हिमताल विस्फोटको आशंका
जल तथा मौसम विज्ञान विभागले तिब्बतबाट एक्कासी ठूलो बाढी आएको पुष्टि गरेको छ। विभागका अनुसार बाढी वर्षाका कारण नभई सम्भवतः हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड) का कारण भएको हुनसक्ने विभागले जनाएको छ।
विभागले बाढीको वास्तविक कारण पत्ता लगाउन ‘सेन्टिनल एशिया प्ल्याटफर्म’ मा ‘इमर्जेन्सी अब्जर्भेशन रिक्वेस्ट’ (EOR) जारी गरेर भू–उपग्रह तस्वीर माग गरेको सजनाएको छ।
महाशाखाका अनुसार विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’ को ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स’ ले भोटेकोशी जलाधार क्षेत्रमा विगत २४ घण्टामा वर्षा भएको देखिएकाे छैन् ।











