पातले छाँगो निजी कम्पनीलाई सुम्पिन भूमिका खेलेको भन्दै छोरेपाटन मा.विका अध्यक्षलाई दलियो कालोमोसो
  • प्रमुख खबर

Oplus_0

पोखरा ।।
छोरेपाटन माध्यमिक विद्यालयले दशकौँदेखि भोगचलन गर्दै आएको पातले छाँगो (डेभिज फल) निजी कम्पनीलाई ठेक्का दिने सम्झौता भएको विषयलाई लिएर केही समय अगाडि यसविरुद्ध चर्को विरोधका साथै आन्दोलनका कार्यक्रम भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीले विद्यालयको प्रमुख आयश्रोत रहेको पातले छाँगो आफ्नो स्वार्थपूर्तिका लागि महानगर हुँदै निजी कम्पनीलाई लामो समयको लागि सुम्पिन भूमिका खेलेको भन्दै यसविरुद्ध नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार(आज) अध्यक्ष पहारीमाथि कालोमोसो दलेका छन्।

तर उनीहरुले अहिले केही सञ्चारमाध्यममा समाचार प्रकाशन भएजस्तो भ्रष्टाचारको आरोपमा कालोमोसो भने नदलिएको प्रमुख मिडियासँगको कुराकानीमा बताएका छन्।

विषेशगरी वि.सं. २०३५ सालदेखि स्वदेशी तथा विदेशी पर्यटकबाट शुल्क लिई सञ्चालन हुँदै आएको पातले छाँगोमाथि पटकपटक हस्तक्षेप हुँदै आए पनि अघिल्ला व्यवस्थापन समितिका प्रयासमा त्यसको स्वामित्व विद्यालयमै रहँदै आएको थियो । तर हालको व्यवस्थापन समितिका अध्यक्ष पहारीले करिब २ हजार २ सय विद्यार्थी अध्ययनरत यस विद्यालयको सार्वजनिक सम्पत्ति निजी कम्पनीसँग मिलेर ठेक्का सम्झौता गरेको भन्दै विद्यार्थी, अभिभावक र स्थानीयवासी आन्दोलित भएपनि त्यसको कुनै सुनुवाई नभएको हुँदा विद्यार्थीको भविस्यका लागि आफूहरुले पहारीमाथि कारबाही गरेको जनाएको छ।

अखिल क्रान्तिकारीले यस विषयलाई लिएर आज एउटा प्रेस विज्ञप्ति जारी गर्दै, करीब ४६ वर्षअघि देखि छोरेपाटन माविले पातले छाँगोबाट आम्दानी सञ्चालन गर्दै आएको थियो ।

आम्दानीबाट ६० % विद्यालयका शिक्षक, शैक्षिक तथा संरचनात्मक विकासमा खर्च हुने गरेको र बाँकी ४० % पातले छाँगोको संरक्षणका लागि प्रयोग हुँदै आएकोमा यसमाथि महानगरको गिद्दे नजर लाग्यो र महानगरपालिकामार्फत सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार ४० वर्षका लागि निजी कम्पनी सेती क्यान्योन प्रा.लि. लाई ठेक्का दिने गरी सहमति गरेकोमा आफूहरुको संगठन यसका विरुद्ध भएको जनाएको छ।

सम्झौता अनुसार महानगरले विद्यालयलाई वार्षिक ३ करोड रुपैयाँ दिनुपर्नेमा दुई किस्ता भुक्तानी रोकिन पुग्दा समेत व्यवस्थापन समिति जवाफदेही हुन् नसकेको विज्ञप्तिमा भनिएको छ।

व्यवस्थापन समितिको मौनताले विद्यालयको भविष्य अन्धकारमय हुने भन्दै ठेक्का सम्झौता तत्काल रद्द गर्न माग गरेका छन् ।

उक्त विज्ञप्तिमा,”विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहारीमाथि विद्यालयको हितविपरीत कार्य गरेको र निजी स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दोहन गर्न खोजेको आरोप लगाइएको छ । साथै, सो सम्झौतामा सहमति जनाएका विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन चेतावनी दिइएको छ। अन्यथा “कडा आन्दोलनात्मक कारबाही” गर्ने चेतावनीसमेत दिइएको छ।

विज्ञप्ति मार्फत नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले सेती क्यान्योन प्रा.लि.का सञ्चालकलाई तत्काल ठेक्कासम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न आग्रह पनि गरिएको छ ।

सो विज्ञप्तिमार्फत उनीहरूले विद्यालयको सम्पत्तिको संरक्षण र विद्यार्थीको भविष्य जोगाउन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा सरोकारवाला पक्षलाई ऐक्यबद्धता जनाउन अपिल समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्