२६औं तायाः मचा नृत्य प्रतियोगिता साउन ३१ मा
  • प्रमुख खबर

श्रावण १७ गते, शनिबार
पोखरामा ।। “कला संस्कृतिको संरक्षण – भावी पुस्तालाई हस्तान्तरण” भन्ने मूल नाराका साथ २६ औं ताया: मचा नृत्य प्रतियोगिता हुने भएको छ।

नेवाः खल कास्कीको आह्वान एंव शिशुवा नेवाः खलको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आगामी साउन ३१ गते उक्त हुने प्रतियोगिता हुने शनिबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ।

नेवा: समुदायका समूह (कचाः खल) तथा तायाः मचा समितिहरूको सक्रिय सहभागितामा सम्पन्न हुने यस प्रतियोगितामा ३५ टिमले सहभागिता रहने यस प्रतियोगिताका प्रचार प्रसार संयोजक कृष्ण कुमार कातिलाले जानकारी दिएका छन्।

नेवार समुदायको मौलिक परम्परा अनुरूप हर्ष र उमङ्गका साथ मनाइने यस तायाः मचा नृत्य कास्की जिल्लामा मात्र प्रतियोगितात्मक स्वरूपमा सञ्चालन हुँदै आएको समेत उनले बताए ।

सांस्कृतिक महत्त्व
गाईजात्रा पर्वसँग सम्बन्धित यो नृत्य, नेवार समुदायको मौलिक सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मानिन्छ।

करिब २ सय वर्ष पुरानो इतिहास बोकेको तायाः मचा नृत्यले सामाजिक सद्भाव, भाईचारा, माया प्रेम र
समावेशी संस्कृतिको सन्देश प्रवाह गरी समाजलाई एक सुत्रमा बाँध्न सफल भएको नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताएका छन्।

उनका अनुसार विषेशगरी यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुका साथै पर्यटन प्रवर्द्धनलाई टेवा पुर्याउने रहेको बताए ।

यो एक दिवसीय कार्यक्रम भएता पनि आर्थिक हिसावले करिव ३३ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष पालिखेले बताए ।

यसका लागि पोखरा महानगरपालिका, वडाहरू, गाउँपालिका, प्रदेश सरकार, संघसंस्था, उद्योगी व्यवसायी तथा सहयोगी दाताहरूबाट आर्थिक स्रोत जुटाउने योजना सहित कार्य सम्पादन भइरहेको उनले बताए।

पछिल्लो समय यो पर्व नेवार समुदायको मात्र नभई सबै जातजाति र धर्म समुदायको साझा उत्सवको रूपमा विकसित हुँदै गएको पनि उनले स्पष्ट पारेका छन्।

पुरस्कार र सम्मान
प्रतियोगितालाई भव्य बनाउन पोखरा-३, तेर्सापट्टी निवासी
रामकाजी श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत आमाबुबा स्व. वालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा पुरस्कार र प्रोत्साहन राशि प्रदान गर्ने आयोजकले जनाएको छ।

प्रतियोगीतामा महिला र पुरुषका छुट्टाछुट्टै तायाः मचा समुहहरुले प्रतिष्पर्धा गर्ने छन् । पुरुषतर्फ प्रथम हुने समुहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्धित्तीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ, तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँ र चौँथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै महिलातर्फ भने प्रथम, द्धित्तीय, तृतीय र चौँथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार प्राप्त गर्ने छन् । यसबाहेक सहभागी जनाउने प्रत्येक टिमलाई १५ हजार रुपैयाँ प्रदान समेत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्