पोखरा महानगरपालिका र कोरियाबीच प्राविधिक शिक्षा छात्रवृत्ति सम्झौता
  • प्रमुख खबर

श्रावण २८ गते, बुधबार
पोखरा ।। पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षामा छात्रवृत्ति तथा शैक्षिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले बुधबार एक कार्यक्रमका बिच हस्ताक्षर गरेका हुन्।

विषेशगरी पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित रहेर समझदारी भएको महानगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने बताइएको छ।

यस्तै शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदान-प्रदान, महानगरपालिका र युङजिन बिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिनेछ ।

सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा पनि सहकार्य गरिनेछ ।

महानगर प्रमुख आचार्यले दुई पक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीहरूको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने महानगर प्रमुख आचार्यले बताए ।

यस्तै उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययनकर्ताहरुलाई समेत यसले महत्त्वपूर्ण सहयोग पुग्ने उनले बताए।

त्यस्तै पोखरा महानगरपालिकासँगको सहकार्यमा आफूहरू यहाँको शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले जनाए ।

उनले प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरा महानगरसँग आफूहरू नजिकबाट काम गर्न चाहिरहेको समेत बताए।

यसअघि पनि कोरियन सरकार र एजेन्सीजहरुको सहयोगमा पोखरामा थुप्रै परियोजनाहरू सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्