कोइकाको तीन दशक यात्रा: नेपालमा ३० मिलियन डलरका नयाँ विकास परियोजना सम्झौता
  • प्रमुख खबर

Oplus_131072

भाद्र ६ गते, शुक्रबार
पोखरा ।। कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पुरा गरेको छ ।

सो अवसरमा “सँगैका ३० वर्ष: विश्वास र सहकार्यको यात्रा” भन्ने नाराका साथ आयोजित एक समारोहमा गण्डकी प्राविधिक संस्थान स्थापना सम्बन्धी सम्झौता सहित थप दुई वटा परियोजनाको सम्झौता भएको छ ।

करिब ९ मिलियन अमेरिकी डलरको गण्डकी प्राविधिक संस्थान स्थापना सम्बन्धी परियोजना सन् २०३० सम्म सञ्चालन हुनेछ ।

यो सहित १० मिलियन डलरको नेपालमा फलफूल तथा तरकारी परियोजनाको मूल्य शृङ्खला विकास र १० मिलियन डलरको सुदूरपश्चिम पोलिटेक्निक संस्थान स्थापना परियोजना सम्बन्धी सम्झौता भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विकास साझेदार र एक असल मित्रका रूपमा कोइकाले नेपालको समग्र विकास प्रक्रियामा पुर्‍याएको महत्त्वपूर्ण र उल्लेखनीय योगदानको प्रशंसा गरे ।

कोइकाले नेपालका विभिन्न क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण तथा फोहोरमैला व्यवस्थापन, मानव संसाधनको विकास र रोजगारी सृजनामा महत्त्वपूर्ण साझेदारको भूमिका निर्वाह गरिरहेको उहाँले बताए ।

यसअघि पोखरामा समेत कोइकाको सहयोगमा ग्रिन भेन्चर जोन मार्फत हरित रोजगारी सृजनाको परियोजना सञ्चालनमा रहेको र निकट भविष्यमा एक सुविधा सम्पन्न जलन अस्पतालको प्रतिबद्धता जनाएको प्रति आभार व्यक्त गरे ।

कोइकाले नेपालमा आफ्नो तीन दशक लामो विकास यात्राको समीक्षा गर्दै नेपाल सरकार र स्थानीय समुदायसँग सहकार्यमा समावेशी, दिगो र समृद्ध भविष्य निर्माण गर्न आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ ।

कोइका नेपालका देशीय निर्देशक मूहन कंगले कोइका र नेपाल बिचको दीर्घकालीन साझेदारी, समावेशी तथा दिगो विकासप्रति दृढ प्रतिबद्धता व्यक्त गरे ।

परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले नेपाल र कोरियाबिचको लामो मित्रता र सहकार्यलाई उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि र क्षमता अभिवृद्धि क्षेत्रमा कोइकाले पुर्‍याएको महत्त्वपूर्ण योगदान प्रति आभार व्यक्त गरे ।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल र कोरियाबिचको गहिरो मित्रता र आपसी विश्वासको प्रतिबिम्ब भएको बताए ।

सन् १९९१ देखि दक्षिण कोरियाली सरकारले कोइका मार्फत नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कोइकाले नेपालको विकासमा हालसम्म २०० मिलियन अमेरिकी डलर लगानी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्