पोखरामा आठौँ इक्यान अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै
  • प्रमुख खबर

भाद्र ७ गते, शनिबार
पोखरा ।। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा आठौँ संस्करणको “इक्यान शैक्षिक मेला” हुने भएको छ।

मेला आगामी भदौ २० र २१ गते पोखराको न्यूरोडस्थित सिटी स्क्वायर व्याङ्कियुटमा हुनेछ । शनिबार(आज) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै इक्यान कास्कीले मेलाबारे जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय स्तरको यस शैक्षिक मेलामा विभिन्न देशका विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहने आयोजकले जनाएको छ।

विषेशगरी यस शैक्षिक मेलामा अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरु,  इक्यानका सदस्य संस्थाहरू, ब्रिटिश काउन्सिलसहित करिब ६० वटा स्टल रहने इक्यान कास्कीका अध्यक्ष ओम प्रकाश गैह्रेले जानकारी दिएका छन् ।

ती स्टलहरुबाट विद्यार्थी र अभिभावकहरुले एकै थलोमा विश्वस्तरीय शिक्षणको अवसर, छात्रवृत्ति, करिअर सम्भावना र विदेश अध्ययनबारे अन्य आवश्यक परामर्श पाउन सकिने उनले बताए।

यस अन्तराष्ट्रिय शैक्षिक मेलाले विद्यार्थीलाई उचित गन्तव्य छनोटमा सहयोग गर्ने मात्र नभई उनीहरुलाई उच्च शिक्षा हासिल गर्न मार्गनिर्देशन गर्ने इक्यान कास्कीका उपाध्यक्ष एंव कार्यक्रम संयोजक सन्तोष शाहीले विश्वास व्यक्त गरेका छन्।

उनले बदलिँदो विश्व शिक्षा प्रणाली र प्रविधिको आवश्यकता अनुसार नेपाली विद्यार्थीलाई उपयुक्त गन्तव्यमा अध्ययन अवसर दिलाउन इक्यान निरन्तर रुपमा अग्रसर रहँदै आएको पनि स्पष्ट पारे ।

उनका अनुसार मेलामा सहभागी विद्यार्थीहरूका लागि ल्यापटप, ट्याबलेट, मोबाइल, मुभी टिकट लगायतका आकर्षक उपहारसहितको ‘लक्की ड्र’ को व्यवस्था गरिएको समेत बताए ।

उनले यो मेला गण्डकी प्रदेशकै सबैभन्दा ठुलो शैक्षिक मेला भएकोले दुई दिनसम्म सञ्चालन हुने यस मेलामा विद्यार्थीलाई विदेश अध्ययन सम्बन्धी विश्वसनीय परामर्श दिनुका साथै नेपालभित्र पनि गुणस्तरीय कलेजहरू रहेको र कुन विषय अध्ययन गर्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा परामर्श दिइने बताए।

शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र विश्वासिलो बनाउन तथा विद्यार्थीलाई सही जानकारी प्रदान गर्ने उद्देश्यले वि. सं २०६७ मा स्थापित संघ हो, इक्यान कास्की ।

यस संघसँग आवद्ध कास्कीमा हाल ६४ वटा परामर्शदाता संस्थाहरू छन् । जसले पोखराका विभिन्न ठाउँहरुबाट सक्रिय रहेर नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली र त्यसको भबिस्यको विषयमा प्रयाप्त सूचना देखि लिएर परामर्श दिँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्