इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना नलाग्ने : यातायात व्यवस्था विभाग
  • प्रमुख खबर

भाद्र १० गते, मंगलबार
काठमाडौं ।। यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि तत्काल कुनै जरिवाना वा दण्ड नलाग्ने स्पष्ट पारेको छ ।

मंगलबार(आज) विभागले विज्ञप्ति जारी गर्दै असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने भन्ने हल्ला निराधार भएको जनाएको हो ।

विभागका महानिर्देशक राजिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”इम्बोस्ड नम्बर प्लेट जडानका विषयमा सम्पूर्ण सरकारी, निजी तथा सार्वजनिक सवारी साधनमा क्रमश: जोड्दै लैजाने निर्णय भएको हो । तर २०८२ असोज १ गतेबाट जडान नगरे जरिवना वा कारबाहीमा पर्ने भन्ने भ्रम छरिएकोले यो हल्ला मात्र हो । यस विषयमा भ्रममा नपर्न र तत्काललाई कुनै किसिमको दण्ड वा जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ ।”

विभागले विज्ञप्ति मार्फत कुनैपनि सवारी धनी वा चालकले आफ्नो समय अनुकुल यातायात कार्यालय गई स्वेच्छिक ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने समेत बताएको छ ।

त्यस्तै पछिल्लो समय सरकारले हरेक क्षेत्रलाई डिजिटलाइजड गर्दै गइरहेकाले यस यातायात क्षेत्रलाई पनि व्यवस्थित बनाउन यही अनुरुप लैजानुपर्ने भएकाले यस कार्यमा सबैको सहयोगको अपेक्षित रहेको जारी विज्ञप्तिमा जनाएको छ ।

विभागले सेवाग्राहीलाई सहज बनाउन प्रदेश कार्यालय तथा विभाग अन्तर्गतका कार्यालयहरूमा पूर्वाधार र जनशक्ति व्यवस्थापन भइरहेको पनि जानकारी दिएको छ ।

इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको अंग्रेजी लिपीबारे समेत विभागले प्रष्टिकरण दिएको छ । विज्ञप्तिमा नम्बर प्लेटमा प्रयोग भएको अंग्रेजी लिपीबारे उठेका प्रश्नमा पनि विभागले प्रष्टिकरण दिएको छ ।

ठेक्का सम्झौता र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट समेत त्रुटि नदेखिएको भन्दै विभागले अंग्रेजी लिपी प्रयोगलाई उचित ठहर गरेको छ ।

विभागले सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका आधिकारिक कागजातहरूमा पनि अंग्रेजी लिपी प्रयोग हुँदै आएको छ विज्ञप्ति मार्फत सबैलाई स्मरण गराएको छ ।

यसअघि विभागले सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने र तोकिएको म्यादसम्म जडान नगरे जरिवाना तिर्नुपर्ने चर्चा चलेको थियो ।

यस विषयलाई लिएर सरकारको चौतर्फी रूपमा विरोध भएको थियो । तर विभागले यसलाई पूर्ण रूपमा असत्य बताउँदै अनावश्यक भ्रममा नपर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्