‘नेपाल कला यात्रा ‘ पुस्तकको लागि समेटियो नवलपुरको अकला देवी मन्दिर
  • प्रमुख खबर

भाद्र ११ गते, बुधबार
पोखरा ।। विश्व कला यात्री प्राज्ञ नगेन सिंह ठकुरीले नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक अकला देवी मन्दिरलाई आफ्नो त्रिकोण क्यानभासमा उतारेका छन्।

विषेशगरी नेपाललाई कला र सम्पदामार्फत विश्वसामु चिनाउने उद्देश्यसहित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान” अन्तर्गत उनले उक्त चित्र
क्यानभासमा उतारेका हुन्।

धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई कलामार्फत प्रचारप्रसार गर्ने अभियानअन्तर्गत गरिएको उक्त लाईभ चित्रण कार्यक्रममा बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठसहित स्थानीयवासीको उल्लेख्य उपस्थिति थियो।

उक्त कार्यक्रममा बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले प्राज्ञ ठकुरीको अभियानअन्तर्गत यस गाउँपालिकाको सम्पदा क्यानभासमार्फत विश्वभर चिनिनु गाउँपालिकाकै ठूलो उपलब्धि भएको बताए । उनले यस कार्यले धार्मिकसहित अन्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे।

त्यस्तै सोही अवसरमा वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वबारे प्राज्ञ ठकुरीलाई जानकारी दिँदै, यस अभियानले मन्दिरको प्रचारप्रसारमा थप टेवा पुग्ने र धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे।

अकला देवी मन्दिर नवलपरासी पूर्व जिल्लाको मात्रै नभई कालीगण्डकी उपत्यकाकै प्रख्यात धार्मिक तथा पर्यटकिय स्थल मानिन्छ।

चारैतर्फी पीपलका बोट र स्वामी रहेको यस मन्दिर परिसरको बीच भागमा सिला (शिलाखण्ड) अवस्थित छ। पूर्णिमा र पञ्चमी तिथिमा विशेष पूजाआजा हुने यस मन्दिर साउन महिना, एकादशी र औँशीमा बन्द हुन्छ भने अन्य दिनहरू सधैं खुला रहन्छ।

प्रत्येक वर्ष चैते पूर्णिमामा २ देखि ३ दिनसम्म भव्य मेला लाग्ने यो मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरु आउने गर्छन् ।

यस मन्दिरमा भक्तजनले मनोकांक्षा पूरा होस् भन्ने विश्वासमा भाकल गरी पूजा गर्ने चलन छ। झिँगा–माखा नलाग्ने अद्भुत विशेषता र पश्चिमपट्टिको ‘अकला गुफा’ले यस मन्दिरको धार्मिक महत्त्वलाई अझ विशेष बनाएको छ।

प्राज्ञ नगेन सिंह ठकुरीले लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, राष्ट्रिय निकुञ्जहरूजस्ता सम्पदालाई आफ्नो त्रिकोण क्यानभासमार्फत विश्वसामु नेपाललाई चिनाउन सफल भएका छन् ।

तर उनी अझै ७७ वटै जिल्लामा कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदाहरूलाई त्रिकोण क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्य सहित अगाडि बढिरहेका छन् ।

उक्त पुस्तकलाई १ सय ९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने प्राज्ञ ठकुरीले बताए।

उनका अनुसार यस अभियानमार्फत २०८६ सालसम्म १ करोड पर्यटक नेपाल भित्र्याउने उद्देश्य रहेको पनि बताए।

कला क्षेत्रमा विगत लामो समयदेखि सक्रिय ठकुरीले हालसम्म झण्डै १ सय ५० भन्दा बढी सम्पदा स्थललाई चित्रण गरिसकेका छन्।

राष्ट्रपतिद्वारा प्रदान गरिने प्रबल जनसेवाश्री मानपदवी लगायत अन्य पदकबाट समेत विभूषित भएका उनले १२ पटकसम्म एकल कला प्रदर्शनी गरिसकेका छन् ।

यस्तै उनले देश–विदेशका थुप्रै प्रदर्शनीहरूमा सहभागिता पनि जनाइसकेका छन्। हाल उनले सुरु गरेको ‘नेपाल कला यात्रा’ पुस्तक प्रकाशन अभियानका लागि स्वैच्छिक सहयोग सङ्कलन भइरहेको छ । जसमा अहिलेसम्म नगद रु १ लाख ६० हजारभन्दा बढी सहयोग रकम समेत जुटिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्