भाद्र १५, पोखरा ।। पद्माप्रेम थिएटरले आफ्नो दोस्रो वार्षिकोत्सवलाई विशेष बनाउँदै नाटक “मृत्यु यस्तो हुनु हुँदैन”मञ्चन गर्ने भएको छ।
आइतबार(आज) सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै लेखक साबित्रा पाठक ‘सवु’ले यसपटकको प्रस्तुति अझ परिपक्व र सशक्त हुने विश्वास व्यक्त गरिन्।
गैह्रापाटनस्थित पोखरा थिएटरमा असोज ३ गतेदेखि ६ गतेसम्म नाटक देखाइनेछ। प्रत्येक दिन बेलुकी ५ बजे मञ्चन हुने नाटक असोज ६ गते दिउँसो १ बजे विशेष अतिरिक्त शो समेत राखिएको छ।
साबित्रा पाठक ‘सवु’को लेखनमा तयार भएको नाटकलाई गोविन्द पराजुलीले निर्देशन गरेका छन्। पराजुलीसँगै रोशनी रामदाम, सितला अधिकारी, अभिषेक भुसाल र प्रदीप गौतम ‘प्रमोद’ले अभिनय प्रस्तुत गर्नेछन्।
हेमन्त पराजुली ‘हितैषि’को व्यवस्थापनमा हुने यस नाटकमा जय चापागाईंको संगीत, ज्योति हमाल र मनिषा लामिछानेको प्रचार–प्रसार र सुरक्षा दाहालको पोस्टर डिजाइन रहेको छ।









