भाद्र २७ ,काठमाडौँ
अन्तरिम सरकारको प्रधानमन्त्री चयनबारे आज बिहान ९ बजेका लागि तोकिएको छलफल केही घण्टापछि मात्र हुने भएको छ । स्रोतका अनुसार सहभागी दल तथा पक्षहरूले आफ्ना–आफ्ना आन्तरिक बैठक गर्नुपर्ने भएकाले छलफल समयमै सुरु हुन नसकेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न दलका नेतासँग संवाद गरेका थिए । दलहरूले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने धारणा राखिरहेका छन् भने आन्दोलनरत जेनजी पक्ष भने संसद विघटनको पक्षमा अडिएको छ ।
संविधानअनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने प्रावधान छ । यद्यपि, दलहरू र जेनजी दुवै पक्षले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति जनाइसकेका छन् । तर, संसदबाट अनुमोदन गर्ने प्रक्रियामा अझै सहमति कायम हुन सकेको छैन ।











