पाेखरा महानगरपालिकाकाे भवनमा आगजनीपछि अवरुद्ध सेवा अब आश्विन १ देखि सञ्चालनमा
  • प्रमुख खबर

भाद्र २९, पाेखरा ।।
जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको
मुख्य प्रशासकीय भवनमा गरिएको आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजात खरानी भएका छन् भने कतिपय सामग्री चोरी समेत भएका छन्।

महानगरले एउटा सूचना जारी गर्दै नागरिकको असन्तुष्टि प्रकट गर्ने अधिकारलाई संवैधानिक रुपमा सुनिश्चित गरिए पनि सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, अराजक र प्रतिशोधपूर्ण शैलीमा प्रहार गर्ने गतिविधि निन्दनीय भएको उल्लेख गरेकाे छ।

उक्त सूचनामा भनिएको छ, “कार्यालय समयमा काम गरिरहेका कर्मचारीमाथि आतङ्क सिर्जना गर्ने, सवारीसाधनमा आगजनी गर्ने तथा सामाग्री चोरी गर्ने सबैको खोजी गरी प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।”

भवन क्षतिग्रस्त भएपछि सेवाप्रवाह अवरुद्ध भए पनि महानगरले आगामी आश्विन १ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

महानगर मातहतका अन्य संरचना प्रयोग गरी तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ। साथै, सबै महाशाखा र शाखाका कार्यस्थल व्यवस्थापन गरेर सेवा सुचारु गरिने जनाइएको छ।

यस्तै, महानगरका विभिन्न वडा कार्यालयहरूमा पनि आगजनी र तोडफोड भएकाले त्यहाँको सेवाप्रवाह प्रभावित भएको छ। तर महानगरले वडा कार्यालयहरूको सेवा समेत आश्विन १ गतेदेखि नियमित गर्ने घोषणा गरेको छ।

महानगरले सम्पूर्ण नगरवासीलाई सेवामा सहयोग पुर्‍याउन आग्रह गर्दै आगजनीका क्रममा चोरी भएका सामग्रीहरू इमानदारपूर्वक फिर्ता गर्न समेत अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्