भाद्र ३०, काठमाडौं ।।
जेनजी आन्दोलनपछि नियुक्ति भएको अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरुको सोमबार(आज) शपथ ग्रहण कार्यक्रम रहेको छ।
शपथ ग्रहण कार्यक्रम आज बिहान साँढे ११ बजे हुनेछ । राष्ट्रपति कार्यालयले शीतल निवास परिसरमा टेन्टमुनि शपथ ग्रहण समारोह आयोजना हुनेछ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन मन्त्री नियुक्त गरेकी थिइन्।
अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाललाई, गृह मन्त्रालयमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालय कुलमान घिसिङलाई दिइएको थियो ।
त्यस्तै अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने र घिसिङले ऊर्जा बाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसमेत हेर्ने तयारी गरिएको छ। तर मन्त्री नियुक्तिको विषयमा असन्तुष्टि पनि देखिएको छ।
जेनजीको खोल ओढेका सुदन गुरुङ समूहसँग आवद्ध केही युवाले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै असन्तुष्टि प्रकट गरेका थिए ।









