पोखराको मणिपाल अस्पतालका नर्सहरूको आन्दोलन स्थगित, ७ दिनभित्र तलब समायोजनको सहमति
  • प्रमुख खबर

अश्विन २०,पोखरा

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरूले तलब वृद्धि र उचित सेवा–सुविधाका मागसहित सुरु गरेको आन्दोलन स्थगित गरेका छन्। आइतबारदेखि धर्ना र नाराबाजीमा उत्रिएका नर्सहरूले आइतबार राति भएको वार्तापछि सोमबारबाट नियमित काममा फर्किएका हुन्।

नर्सहरूले ‘हामी नर्स हौँ, मेसिन होइनौं’ भन्ने नारासहित अस्पताल परिसरमा प्रदर्शन गरेका थिए। उनीहरूले कार्यभार अत्यधिक भए पनि त्यसअनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका थिए।

आन्दोलित नर्सहरू र अस्पताल प्रशासनबीच आइतबार राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको मणिपाल प्रशासनका तर्फबाट वार्तामा सहभागी कृष्णमोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, “हिजोदेखि नियमित काम सुरु भइसकेको छ। वार्तामा १ साताभित्र तलब समायोजन गर्ने सहमति भएको छ।”

अस्पताल प्रशासनले पनि तलब वृद्धि प्रक्रिया अघि बढिरहेको जनाएको छ। श्रेष्ठका अनुसार, “व्यवस्थापन पक्ष तलब बढाउने पक्षमै थियो, तर केही गृहकार्य आवश्यक थियो। अहिले त्यसै विषयमा चरणबद्ध रूपमा काम अगाडि बढाइएको छ।”

हाल मणिपाल शिक्षण अस्पतालमा करिब १,२०० जनाभन्दा बढी डाक्टर, नर्स र कर्मचारी कार्यरत छन्। करिब ३०० नर्सहरूले उचित सेवा र सुविधा नपाएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका थिए।

नर्सहरूले भने ७ दिनभित्र माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्