अश्विन २४, काठमाडौँ
भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरहरूविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ।
राज्यविरुद्धको कसुर, आतंकवाद, सार्वजनिक शान्ति भङ्ग, हातहतियार खरखजाना, विष्फोटक पदार्थ, तथा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याएको आरोपसहित अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन्।
जाहेरीमा भनिएको छ, हालैको ‘जेन–जी आन्दोलन’ का क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काइएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याइएको हो।
उनीहरूले कलाकार संजोग कोइराला, निश्चल बस्नेत, रास्वपा नेतृ ज्वाला संग्रौला, तनुजा पाण्डे, पत्रकार राजीव खत्री, युट्युवर भाग्य न्यौपाने, प्रदीप ज्ञवाली, कलाकार हिमेश पन्त, भोजराज थापा, जेन्जीका अगुवा मिराज ढुङ्गाना, पुरुषोत्तम यादव, रक्षा बम, प्रवेश दाहाल, योग्यता भण्डारी, जेम्स कार्की, दीपकजंग अधिकारी, ओजस्वी थापा, पूर्वसांसद सुमना श्रेष्ठ, केपी खनाल, रिमा विश्वकर्मा, टिकटकर मनोज के.सी., युजन राजभण्डारी, र रामकुमार खड्कालगायतमाथि पनि कारबाहीको माग गरेका छन्।
जाहेरीवालाले प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा आगजनी र तोडफोड गर्न लगाएको दाबी गर्दै सञ्चारमाध्यमबाट संकलित फोटो र भिडियोहरू प्रहरीमा बुझाएका छन्।











