कार्तिक ७, पोखरा।।
‘नेपाल कला यात्रा’ पुस्तक कार्तिक ६ गते बुधबार भाइटीकाको दिन लोकार्पण गरिएको छ।
कलाकारिता मार्फत नेपाललाई विश्व मञ्चमा चिनाउने उद्देश्यले तयार गरिएको उक्त पुस्तक पोखरास्थित नगेन आर्ट म्युजियममा एक विशेष समारोहकाबीच लोकार्पण गरिएको हो ।
कलाकार नगेन सिंह ठकुरीद्वारा प्रकाशित उक्त कृति नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक र सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारेर तयार गरिएको अद्वितीय संकलन हो।
पुस्तकमा लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ हिमाल, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थलका कलाकृतिहरू समावेश छन्।
कार्यक्रममा राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, साहित्यकार असफल गौतम, पर्यटन विज्ञ दीपेन्द्र पहारी, कार्यक्रम संयोजक नवीन श्रेष्ठ, नगेन न्यूज पब्लिकेशन प्रा.लि.की अध्यक्ष ज्योति हमाल, र कलाकारका अभिभावक होमबहादुर सिंह र शान्ता सिंह ठकुरीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए ।
कलाकार ठकुरीले पुस्तक सार्वजनिक गर्दै,“हाम्रो देशको प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता विश्वमै अनुपम छ। तर यसको प्रचार र उपयोगमा कमी छ। यही सन्देश तिहारकै दिन विश्वभर पुर्याउने उद्देश्यले यो पुस्तक सार्वजनिक गरेको हुँ।,”भने।
पुस्तकका समीक्षक पर्यटन विज्ञ दीपेन्द्र पहारीले यस कृतिले नेपाली कला र पर्यटनबीचको सम्बन्धलाई अझ सशक्त रूपमा जोडेको बताए।
त्यस्तै साहित्यकार असफल गौतमले ठकुरीको कलाकृतिले नेपाललाई “रङ, रेखा र भावना” मार्फत बुझ्ने नयाँ दृष्टिकोण दिएको टिप्पणी गरे।
कार्यक्रमको सञ्चालन सुजन देवाजुले गरेका थिए भने स्वागत मन्तव्य ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’का संयोजक नवीन श्रेष्ठले राखेका थिए।
यस्तै सो कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन नगेन न्यूज पब्लिकेशन प्रा.लि.की अध्यक्ष ज्योति हमालले गरिन्।
कार्यक्रममा उपस्थित अतिथिहरूले ठकुरीको “नेपाल चिनाउने कला–अभियान” लाई निरन्तरता दिन शुभकामना दिएका थिए।
आयोजकका अनुसार, ‘नेपाल कला यात्रा’लाई निकट भविष्यमा १ सय ९७ भाषामा अनुवाद गरी विश्वका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने योजना रहेको बताइएको छ।









