कार्तिक २२, काठमाडौं ।।
शनिबार(आज) नोभेम्बर ८ तारिक ‘विश्व रेडियोग्राफी तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ विविध कार्यक्रमसहित देशभर मनाइँदैछ ।
यस वर्षको नारा “इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण” तय गरिएको छ। विषेशगरी रेडियोग्राफी र रेडिएसन थेरापीको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।
विश्वभरका स्वास्थ्यकर्मी, विद्यार्थी र रेडियोलोजी व्यवसायीहरूले आज ( ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ विविध कार्यक्रमसहित मनाउँदै छन्।
सन् १८९५ नोभेम्बर ८ मा जर्मनका वैज्ञानिक विल्हेल्म रोएन्टजेनले विकिरण ‘एक्स–रे’को आविष्कार गरेपछि सो ऐतिहासिक दिनको सम्मानस्वरूप विश्वभर यो दिवस मनाउन थालिएको हो।
रेडियोलोजीका माध्यमबाट बिरामीको शरीरभित्रका अङ्गहरू, हड्डी र सम्भावित समस्या बिना चिरफार पत्ता लगाउन सकिने भएकाले यो प्रविधि स्वास्थ्य क्षेत्रको अभिन्न हिस्सा बन्दै गएको छ।
पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै रेडियोलोजी अब रोग पत्ता लगाउने यन्त्र मात्र नभई उपचारका नयाँ विधाका रूपमा पनि विस्तार हुँदै गएको छ।
रेडियोलोजी दुई भागमा विभाजित छ, एउटा ‘डाइग्नोस्टिक रेडियोलोजी’ (रोग पहिचान गर्ने) र अर्को ‘इन्टरभेन्सन रेडियोलोजी’ (विना चिरफार उपचार गर्ने)।
सुरुवाती चरणमा रेडियोलोजी एक्स–रेको प्रयोगबाट शुरू भएको भएपनि अहिले यस क्षेत्रमा विकिरण प्रयोग नगरी गरिने अत्याधुनिक प्रविधिहरू पनि आएका छन्।
विकिरण प्रयोग हुने परीक्षणहरूमा एक्स–रे, सिटी स्क्यान, फ्लोरोस्कोपी, मेमोग्राफी र न्यूक्लियर मेडिसिन पर्दछन् भने विकिरणविहीन प्रविधिहरूमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) र एमआरआई जस्ता उपकरणहरू प्रमुख छन्।
आज नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न अस्पताल, स्वास्थ्य संस्थान र शिक्षण अस्पतालहरूले सेमिनार, गोष्ठी, जनचेतनामूलक कार्यक्रमका साथै निःशुल्क रेडियोलोजी परामर्शका कार्यक्रम गरी मनाईंदैछ।












