कार्तिक २४, एजेन्सी ।।
जापानको उत्तरपूर्वी क्षेत्रमा हिजो साँझ शक्तिशाली भूकम्प गएको छ। जापानी मौसम विभागका अनुसार कुजि केन्द्रबिन्दु रहेको उक्त भूकम्पको तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको हो।
भूकम्प समुद्र सतहदेखि करिब १६ किलोमिटर गहिराइमा गएको बताइएको छ। भूकम्पपछि केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर ठूलो क्षति वा बाढीको सूचना प्राप्त भएको छैन।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भने भएको छैन।
भूकम्प केन्द्र नजिकै रहेका दुई परमाणु ऊर्जा संयन्त्रहरूमा कुनै क्षति नभएको जापानी अधिकारीहरूले जनाएका छन्।
यद्यपि, केही क्षेत्रमा विद्युत् आपूर्ति अस्थायी रूपमा रोकिएको र टोहोको शिंकान्सेन बुलेट रेल सेवा समेत केही घण्टाका लागि बन्द गरिएको थियो।
अधिकारीहरूले आगामी दिनहरूमा परकम्पहरू आउन सक्ने चेतावनी दिएका छन्। यसबीच, जापानकी प्रधानमन्त्री साने ताकाइचीले नागरिकहरूलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्कता अपनाउन आग्रह गरेकी छिन्।
उक्त भूकम्पपछि जापानको आपतकालीन प्रतिक्रिया टोली प्रभावित क्षेत्रमा सुरक्षा मूल्यांकन र जोखिम नियन्त्रण कार्यमा जुटिरहेको बताइएको छ।









