रङ, रेखा र राष्ट्रप्रेम: कलाकार सिंहको ‘नेपाल कला यात्रा’ पाँचौँ प्रदर्शनी सम्पन्न
  • प्रमुख खबर

मंसिर २३, पोखरा ।।
नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने महाअभियान अन्तर्गत “नेपाल कला यात्रा” पुस्तक प्रकाशनका लागि आयोजित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल पाँचौँ कला प्रदर्शनी” सफलतापूर्वक सम्पन्न भएको छ।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना भएको ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ अन्तर्गत उक्त प्रदर्शनी कार्यक्रम भएको थियो।

“शान्ति, पर्यटन र कला प्रवर्द्धन” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा विश्वकला यात्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राज्ञ नगेन सिंहले सिर्जना गरेका कलाकृतिहरू प्रदर्शन गरिएका थिए।

प्रदर्शनीमा नेपालको ७७ वटै जिल्लाका कम्तीमा तीन–तीन वटा हेर्न, सुन्न र घुम्नलायक स्थलहरूका चित्रकलाहरू प्रस्तुत गरिएको थियो।

सो अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यस कला प्रदर्शनीमार्फत “नेपाल कला यात्रा” नामक रंगीन पुस्तकलाई संसारका १ सय ९७ वटा भाषामा प्रकाशन गर्ने दीर्घकालीन लक्ष्य राखिएको जानकारी दिए।

यस्तै यस अभियानका अभियन्ता सिंहले यो महाअभियानमा आशीर्वाद स्वरूप एक सय रुपैयाँ योगदान गरेर जो–कोही सहभागी हुन सक्ने व्यवस्था मिलाइएको बताए ।

हालसम्म १ हजार ८ सय १५ जना भन्दा बढी व्यक्तिहरू यस महाअभियानमा सहभागी भइसकेका छन्।

यस पुस्तकमा कलाकार सिंहले नेपालका ७७ वटै जिल्लामा पुगेर त्यहाँका प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय क्षेत्र समेटेर चित्रकला सिर्जना गरेका छन् ।

उनको यस योगदानको कदर स्वरूप २०७८ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट सम्मानित पनि भइसकेका छन्।

कलाकार सिंहका अनुसार “नेपाल कला यात्रा” पुस्तक नेपाली भाषामा प्रकाशित भइसकेको छ भने बाँकी १ सय ९७ भाषामा अनुवाद तथा प्रकाशन प्रक्रिया अघि बढिरहेको छ।

विश्वका विभिन्न देशका विश्वविद्यालय तथा पुस्तकालयहरूमा सम्बन्धित देशकै मातृ भाषामा कम्तीमा ३ सय प्रति निःशुल्क रूपमा पुस्तक वितरण गर्ने योजना समेत रहेको उनले बताए ।

यस अभियानको दीर्घकालीन लक्ष्य नेपालमा वार्षिक कम्तीमा १ करोड पर्यटक भित्र्याउने, पर्यटन प्रवर्द्धनमार्फत देशको आर्थिक विकास गर्ने र नेपालीलाई समृद्ध बनाउने रहेको उनको भनाइ छ।

यस्तै उनको यस महाअभियानमा देशका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको छ।

पूर्व प्रधानमन्त्रीदेखि लिएर मन्त्री, मुख्यमन्त्री, संघीय तथा प्रदेश सांसद, पत्रकार, शिक्षाविद्, धर्मगुरु, साहित्यकार, व्यवसायी लगायत महानायक राजेश हमाल, गायक राजु लामा, दिपक बज्राचार्य, ज्योतिमगर, शान्तिश्री परियार, प्रकाश दुतराज, टिका प्रसाईं, निशा देशार, रितु कडेल जस्ता चर्चित कलाकारहरू समेत सहभागी भइसकेका छन्।

त्यस्तै नेपाल कला यात्रा पुस्तक प्रकाशन समिति संयोजक चिन्तामणि खरेलले यस अभियानमा एक सय रुपैयाँ वा सोभन्दा बढी योगदान गरेर सहभागी हुने सबै व्यक्तिहरूको नाम पुस्तकमा प्रकाशित गरिने जानकारी दिए। यस कार्यले सहभागीहरूलाई अभियानसँग भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।

कलाकार सिंह नेपाल कला क्षेत्रका एक प्रतिष्ठित नाम हो । उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य (२०७१), स्वर्ण पदक (२०७४), अरनिको युवा पुरस्कार (२०६९), नाफा पश्चिमाञ्चल क्षेत्रीय प्रथम पुरस्कार (२०५९), अरनिको कला कार्यशाला प्रथम पुरस्कार (२०५९), सान्त्वना पुरस्कार, पेन्टिङ प्रतियोगिता, नेपाल कमर्सियल आर्टिस्ट संघ केन्द्रीय समिति सदस्यलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट पुरस्कृत समेत भइसकेका छन्।

उनले कला विषयमा स्नातकोत्तर अध्ययन गर्नुका साथै हालसम्म १२ पटक एकल कला प्रदर्शनी पनि सम्पन्न गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्