नेपालको अन्तरिक्ष यात्रामा ऐतिहासिक फड्को : स्वदेशमै बनेको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण
  • प्रमुख खबर

Oplus_131072

पौष २८, काठमाडौं ।।
नेपालले अन्तरिक्ष विज्ञानको क्षेत्रमा ऐतिहासिक फड्को मार्दैछ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को पहलमा पहिलो पटक स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह सोमबार(आज) अन्तरिक्षमा उड्न तयार भएको छ।

सीमित स्रोत र प्रविधिका बाबजुद उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष यात्राको नयाँ अध्यायका रूपमा हेरिएको छ।

नास्टको पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्षको निरन्तर अनुसन्धान र मेहनतपछि तयार भएको ‘मुनाल’ उपग्रह वनस्पति तथा वातावरणीय अनुगमन, स्वदेशी प्रविधिको परीक्षण र कृत्रिम बौद्धिकता (एआई) आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।

यसले नेपालमा वैज्ञानिक अनुसन्धान र प्रविधि विकासलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। नास्टका सचिव डा. रविन्द्रप्रसाद ढकालका अनुसार उपग्रहको सञ्चालन तथा निगरानी ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिनेछ।

उनले ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत राइडसेयर पेलोडका रूपमा आज बिहान नेपाली समयानुसार १० बजेर ३२ मिनेटमा प्रक्षेपण हुने बताएका छन्।

भारतको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण हुने ‘मुनाल’ उपग्रहले पृथ्वीको तस्बिर र आवश्यक डाटा सङ्कलन गरी नेपालमै प्रशोधन गर्नेछ।

यसबाट वनस्पतिको अवस्था, वातावरणीय परिवर्तनको अध्ययन र नयाँ प्रविधिको परीक्षणमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विद्यार्थीहरूकै नेतृत्वमा विकसित यो उपग्रहले नेपालका युवा वैज्ञानिकलाई अन्तरिक्ष प्रविधिमा प्रत्यक्ष संलग्न गराउँदै दीर्घकालीन रूपमा स्वदेशी दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने लक्ष्य बोकेको छ।

विज्ञहरूका अनुसार ‘मुनाल’ उपग्रहको सफल प्रक्षेपण र सञ्चालनले नेपाललाई अन्तरिक्ष प्रविधि प्रयोग गर्ने राष्ट्रहरूको सूचीमा अझ मजबुत रूपमा स्थापित गर्नेछ।

यसले भविष्यमा साना उपग्रह विकास, अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य र व्यावहारिक प्रयोगका नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्