जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती आजदेखि सुरू
  • प्रमुख खबर

माघ ७, पोखरा ।।
पोखरा महानगरपालिका–२३, हर्पनमा अवस्थित जनसिद्ध आधारभूत विद्यालयको स्वर्ण जयन्ती बुधबार(आज)देखि औपचारिक रूपमा सुरू भएको छ।

विद्यालयको ५०औँ वार्षिक उत्सवको उद्घाटन पोखरा महानगरपालिकाकी उप-प्रमुख मञ्जुदेवी गुरुङले गरेकी छन्।

स्वर्ण जयन्तीको उद्घाटन गर्दै नगर उप-प्रमुख गुरुङले समुन्नत समाज निर्माणको पहिलो आधार शिक्षा भएको बताइन्।

विद्यालयलाई स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पोखरा महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गरिन् ।

उनले भनिन्,“विद्यार्थी काँचो माटो जस्तै हुन्। भौतिक विकासभन्दा असल मानवीय विकास आजको आवश्यकता हो। व्यावहारिक शिक्षाले शैक्षिक गुणस्तर वृद्धि गर्न र विद्यार्थीलाई सही मार्गदर्शन दिन मद्दत गर्छ।”

उद्घाटन समारोहका अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक स्व. चूडामणि पराजुली (वि.सं. २०३२/०९/०१ देखि २०३५/१०/२९), टंकप्रसाद पराजुली (वि.सं. २०३५/१०/३० देखि २०५६/१०/१७) र शिरपति अधिकारी (वि.सं. २०५६/१०/१८ देखि २०७३/०१/०३) लाई सम्मान गरिएको थियो।

यस्तै स्वर्ण जयन्तीको अवसरमा पाँच हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने दाताहरूलाई भोलि बिहीबार सम्मान गरिने विद्यालयका प्रधानाध्यापक लेखबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

कार्यक्रममा जीवन दाहाल, रामजी पौडेल, माया गुरुङ, मनोहरी दाहाललगायत कलाकारहरूको प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।

सह–संयोजक लक्ष्मीप्रसाद पौडेलको स्वागत मन्तव्यसँगै सुरू भएको कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लोककुमारी क्षेत्रीले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रष्ट पारे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङ, शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाट, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद तिवारी, अन्नपूर्ण गाउँपालिका वडा नं. २ का वडा सदस्य भानुभक्त दाहाल, पूर्व प्रधानाध्यापक टंकप्रसाद पराजुली तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बाबुराम पौडेललगायत वक्ताहरूले विद्यालयको इतिहास, विकास र शिक्षाका आयामबारे धारणा राखे ।

कार्यक्रमको सञ्चालन स्वर्ण जयन्ती मूल समारोह समितिका सचिव भानु पराजुलीले गरेका थिए ।

यस विद्यालयको स्थापनादेखि हालसम्म करिब १० हजार विद्यार्थी दीक्षित भइसकेका छन् भने ८४ जना शिक्षक–शिक्षिकाले अध्यापन गराइसकेका छन्।

विद्यालयका संस्थापक अध्यक्ष मेघनाथ पौडेलको सक्रियता तथा स्थानीयको श्रमदानमा वि.सं. २०३२ सालमा स्याउलाले बारेर विद्यालयको स्थापना गरिएको थियो। ६० को दशक सम्म ढिकुरपोखरी गाविस र भदौरे–तामागी गाविसका विद्यार्थीहरू यस विद्यालयमा अध्ययन गर्दथे।

तपाईको प्रतिक्रिया दिनुहोस्