आज श्रीपञ्चमी अर्थात सरस्वतीको पूजा देशभर गरिँदै
  • प्रमुख खबर

माघ ०९, पोखरा ।।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गर्न सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि वृद्धि हुने विश्वास छ ।

आजकै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने तथा लेखपढ सिकाउने परम्परा छ । यस दिन पढाइ शुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहेको छ । विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीका प्रतीकका रूपमा पूजा गर्ने चलन छ । तान्त्रिकहरू भने तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरायण लाग्ने र दिन लामो हुँदै जाने विश्वासका कारण आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता कार्य साइत नहेरी गर्न मिल्ने विश्वास रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म गर्न नहुने मान्यता छ । बालबालिकालाई शिक्षा आरम्भ गराउने तथा नाक–कान छेड्ने परम्परा भने कायमै छ ।

यसैबीच महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्तपञ्चमी) लाई कृषि नववर्षको रूपमा मनाउने परम्परा छ । मिथिला मुख्यतया कृषिप्रधान क्षेत्र भएकाले यस पर्वलाई किसानका लागि नयाँ वर्षको शुरुआत मानिन्छ ।

यस दिन किसानले कृषि श्रमिक र लोहार वरण गर्ने, हलो जोत्ने, कृषि औजार पूजा गर्ने तथा बीउ छनोट, शुद्धीकरण र भण्डारण गर्ने चलन छ ।

यससँगै वर्षभरि राम्रो खेतीपाती होस् भन्ने कामना गरिन्छ । श्रीपञ्चमीसँगै वसन्त ऋतु शुरु हुने र मौसम खेतीका लागि अनुकूल बन्ने विश्वास पनि रहेको छ । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, मौसमको अनिश्चितता, युवा श्रमिकको पलायन र सरकारी सहयोगको अभावका कारण परम्परागत अभ्यास कमजोर बन्दै गएको किसानहरू बताउँछन् । मिथिलामा हरियाली र सम्पन्नताको प्रतीक मानिने यो पर्व संरक्षण र सहजीकरणको आवश्यकता देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्