माघ २३, पोखरा ।।
विश्व मञ्चमा नेपालमा रहेको अग्ला हिमालहरुबारे जति चर्चा-परिचर्चा हुने गर्छ त्यति नै चर्चा शेर्पा समुदायको पनि हुने गर्छ । सगरमाथा आरोहणका हरेक सफल कथामा शेर्पाहरूको अडिग साहस, गहिरो अनुभव र निरन्तर प्रयास अविभाज्य अङ्गका रूपमा जोडिएको छ।
ज्यानै जोखिममा पार्ने हिमालको कठोर मौसम, जोखिमपूर्ण यात्रा जस्ता चुनौतीकाबीच पनि यो समुदायको मानिसहरू हिमाल आरोहणका क्रममा सधैं अग्रपंक्तिमा उभिन्छन्। जहाँ धेरैको साहस डगमगाउँछ, त्यहीँ उनीहरूको आत्मविश्वास झन् मजबुत रहन्छ।
उनीहरूले हिमालका अप्ठ्यारा भीर–पाखामा ठूला – ठूला भारी बोक्दै, बाटो कोर्दै, डोरी टाग्दै आरोहीहरुलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने जिम्मेवारी काँधमा लिँदै त्यसलाई सफलतापूर्वक पूरा गर्छन् ।
शेर्पाका लागि हिमाल केवल रोजगारीको साधन मात्र नभई यो उनीहरूको जीवन, संस्कृति र पहिचानको आधार पनि हो।
पुस्तौंदेखि सँगालेको अनुभव, अदम्य साहस र अथक मेहनतले उनीहरूलाई हिमालकै सन्तानजस्तै बनाएको छ। उनीहरू पहाड चढ्ने मात्र होइनन्, अरूका लागि पहाड चढ्ने बाटो नै कोर्ने गर्छन् । यही समर्पण, निष्ठा र वीरताले शेर्पा समुदायलाई विश्वसामु सहासी र गर्व गर्न योग्य ओल जीवित प्रतीकका रूपमा स्थापित गरेको छ।
यिनै साइलेन्ट हिरोज बिना सगरमाथामा कुनैपनि आरोहण सफल हुन कठिन मानिन्छ। कैयौँ विदेशी आरोहीहरूको ज्यान संकटमा पर्दा उनीहरू नै अग्रपंतिमा उद्धारकर्ता बनेका उदाहरणहरू प्रशस्तै छन्।
विषेशगरी यस समुदायको अप्पा शेर्पा र कामी रिता शेर्पाजस्ता कीर्तिमानी आरोहीहरूले पटक–पटक सगरमाथा चढ्दै विश्व कीर्तिमान कायम गरेका छन् । जसले केवल व्यक्तिगत सफलता मात्र होइन नेपाल र शेर्पा समुदायको साहसलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने गौरवपूर्ण इतिहास पनि रचेका छन्।
यो समुदाय साहसको सवालमा जति सम्बृद्ध छन् त्यति नै संस्कृतिक र परम्पराको सवालमा पनि सम्पन्न छन् । उनीहरूले मनाउँदै आएको ग्याल्पो ल्होसारदेखि धार्मिक तथा सांस्कृतिक महोत्सव मणि रिम्दु, असार–साउन महिनातिर समुदायको शान्ति र समृद्धिको कामनासहित मनाइने दुम्जे, भगवान बुद्धको जन्मजयन्तीका रूपमा श्रद्धापूर्वक मनाइने सागा दावा होस् वा बुद्ध स्वर्गबाट पृथ्वीमा फर्किएको दिनको स्मरणमा मनाइने ल्हाबाब दुचेन, यी सबै पर्वहरूले शेर्पा समुदायको धार्मिक आस्था र सांस्कृतिक समृद्धि कति छ भन्ने दर्साउँछ ।
विषेशगरी यी पर्वहरू मध्ये यस समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व भनेको ग्याल्पो ल्होसार हो । यही साहसी समुदायको पर्वलाई ऐतिहासिक बनाउन यस वर्ष ग्याल्पो ल्होसारलाई केवल शेर्पा समुदायभित्र मात्र नयाँ वर्षको उत्सवमा सीमित नगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र आर्थिक चलायमानताको साझा अभियानका रूपमा “ग्याल्पो (शेर्पा) ल्होसार २०८२” उत्सव हुने भएको छ ।
मेडीकनेक्ट पोखरा तथा आइसीपीडी नेपालको आयोजना, नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन उद्यमी संघ नेपाल,म्याजेस्टिक पीक एड्भेन्चर, ट्रेक एण्ड एक्सपीडीसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त उत्सव फागुन ६ देखि ८ गतेसम्म आयोजना हुँदैछ ।
यो उत्सव पर्यटनको राजधानी पोखराको अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा हुने आयोजक मेडीकनेक्ट पोखराका अध्यक्ष डा.विष्णु भुसालले जानकारी दिएका छन्।
उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने यस उत्सवले हिमाली संस्कृति, मौलिक स्वाद र रंगीन भेषभूषाको संगममार्फत पोखरालाई झलमल्ल बनाउनेछ।
विषेशगरी यस पर्वलाई पोखराको पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र आर्थिक चलायमानताको साझा अभियानका रूपमा पहिलो पटक मनाउन लागिएको समेत उनले बताए।
अनुपम प्राकृतिक सौन्दर्यले भरिएको पोखरालाई शेर्पा संस्कृति, खानपान र हिमाली जीवनशैलीसँग जोड्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने र बसाइ लम्ब्याउने लक्ष्य आयोजकहरूले लिएका छन्।
पछिल्लो समय पोखराको होटलहरूको अकुपेन्सी ५ प्रतिशतभन्दा तल झरिरहेको अवस्थामा यस्ता सांस्कृतिक गतिविधिले होटल, ट्रेकिङ कम्पनी, रेस्टुरेन्ट र साना व्यवसायलाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ।
डा.भुसालले सगरमाथासहित नेपालका उच्च शिखरदेखि युरोपको अल्पाइन क्षेत्रमा समेत नयाँ मार्ग निर्माण गर्दै यस समुदायले नेपालको साख अन्तर्राष्ट्रिय स्तरमा उकासेको बताउँदै पर्वतारोहण उच्च आम्दानी हुने पर्यटन गतिविधि भएकाले यसले देशको अर्थतन्त्रमा राम्रै टेवा पुगेको बताए ।
यही कारण पनि ल्होसारलाई ‘फेस्टिभल टुरिजम’ का रूपमा विकास गरी वर्षेनी पर्यटक भित्र्याउने दीर्घकालीन योजना समेत अघि सारिएको जानकारी दिए ।
त्यस्तै यस उत्सवका समन्वयकर्ता पेम्बा(संगम) शेर्पाले ‘ग्याल्पो’ शब्दको अर्थ “राजा” र ल्होसार शब्दको अर्थ “नयाँ” भएको बताउँदै करिब ६–७ सय वर्षअघि तिब्बती सभ्यताबाट सुरु भएको यो पर्व आज शेर्पा, तिब्बती, योल्मो र मुस्ताङ क्षेत्रका समुदायहरूले मनाउँदै आएको बताए।
उनले गुरुङ समुदायले मनाउने तमु र तामाङ समुदायले मनाउने सोनाम ल्होसार जस्तै ग्याल्पो लोसार शेर्पाहरुले मनाउने पर्व भएको र यसले हिमाली समुदायको छुट्टै सांस्कृतिक पहिचान बोकेको समेत बताए।
विषेशगरी यस उत्सवमा अथेन्टिक शेर्पा खाना विशेष आकर्षण हुने बताउँदै एभरेस्ट क्षेत्रको स्वाद यस सुन्दर पर्यटकीय नगरी पोखरामै अनुभव गर्न पाइने पनि उनले बताए । जसमा नौनी चिया (बटर टी), स्याबाले, थुक्पा, शाक्पा, आलु, जौका परिकारका साथै गुरुङ, मगर, थकाली, नेवारीलगायत समुदायका अथेन्टिक फुड पनि राखिनेछ।
नेपालको पर्यटनको वास्तविक पहिचान भनेको नै विदेशी खानाको नक्कल नगरी आफ्नै भान्साको मौलिक स्वाद र रैथाने परिकार भएको समेत उनले बताए । यदि हाम्रो खानाको स्वादमै संस्कृतिको सुगन्ध मिसाउन सके पर्यटकले गन्तव्य मात्र होइन अविस्मरणीय अनुभव पनि साथमा लिएर फर्किने उल्लेख गरे।
यससँगै उत्सवमा परम्परागत शेर्पा साँस्कृतिक प्रस्तुतिहरु, हस्तकलाको प्रदर्शनी, साँस्कृतिक अनुष्ठान तथा दिगो पर्यटन र पर्वतीय सम्पदासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु समावेश हुने पनि बताइएको छ।
शेर्पाले पोखरामा ग्याल्पो लोसारलाई संस्थागत रूप दिन डा. भुसालको निर्णायक पहल नै मुख्य आधार बनेको बताउँदै उनकै अग्रसरतामा पोखरा महानगरपालिका र विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै शेर्पा संस्कृति, खानपान र हिमाली जीवनशैलीलाई पर्यटनसँग जोड्ने अभियानका रूपमा यस उत्सव आयोजना गर्न लागिएको स्पष्ट पारे ।
आफ्नै खर्चमा सगरमाथा आरोहण गर्ने उनको साहसिक पृष्ठभूमिले पनि पर्यटन व्यवसायी र युवालाई नयाँ ऊर्जा र प्रेरणा दिएको शेर्पाको भनाइ छ।
यस्तै सो उत्सव अवधिभर ८ हजार मिटर भन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छा शेर्पादेखि २५-३० जना शेर्पा कलाकार लगायतकाको उपस्थिती रहने पनि उनले जनाए ।












