माघ २५, काठमाडौं ।।
आईसीसी टी–२० विश्वकप २०८२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा इङ्गल्याण्डले नेपाललाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आईतबार(आज) टस जितेर ब्याटिङ गरेको इङ्गल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो।
इङ्गल्याण्डका ज्याकब बेथेलले ५५ र कप्तान ह्यारी ब्रूकले ५३ रनको जोडीदार पारी खेले, जसले टोलीलाई मजबुत स्कोरतर्फ पुर्यायो।
नेपालका बलर दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान रूपमा २–२ विकेट लिएर टोलीलाई चुनौती दिएका थिए। यो प्रतियोगितामा दुवै टोलीका लागि पहिलो खेल भएकाले उत्साह चरममा छ।
आजै भएको समूह ‘डी’ को खेलमा न्युजिल्यान्डले अफगानिस्तानलाई हराउँदै विजयी सुरुआत गरेको छ। बेलुकी सवा ७ बजे समूह ‘बी’ का श्रीलङ्का र आयरल्यान्ड भिड्नेछन्।
टी–२० विश्वकपमा २० टोली सहभागी छन्। जसअन्तर्गत समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड, ओमान छन् ।
यस्तै समूह ‘सी’ मा नेपाल, इङ्गल्याण्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड, इटाली रहेको छ । यसमा इटाली पहिलो पटक विश्वकप खेल्दै ।
समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई, क्यानडा रहेको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा प्रवेश गर्नेछन्, जहाँ चार–चार टोली दुई समूहमा बाँडिनेछन्। त्यसपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
टी–२० विश्वकपको १०औँ संस्करणको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ। क्रिकेटप्रेमीहरूका लागि यो विश्वकपले रोमाञ्चक खेल र आश्चर्यजनक मोडहरू पेश गर्ने विश्वास गरिएको छ।













