माघ २५, पोखरा ।।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने मूल नारासहित पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा! रारा पोखरा गोल्डकप यही माघ २७ गतेदेखि सञ्चालन हुँदैछ ।
सहारा क्लब पोखराको आयोजनामा हुने यस प्रतियोगिता यस वर्ष केही विशेष हुने भएको छ । विषेशगरी यस वर्ष क्लबले आफ्नो ऐतिहासिक रजत वर्ष मनाउँदै गर्दा पोखरेली फुटबल प्रेमीहरुलाई केही नयाँपन दिन पहिलोपटक अस्थायी फ्लडलाइट जडान गरी नाइट म्याचका रूपमा प्रतियोगितालाई सञ्चालन गरिनेछ ।
यसले पोखरेली फुटबल प्रेमी दर्शकलाई नयाँ र अविस्मरणीय फुटबलको अनुभव दिने विश्वास आयोजकको छ।
पोखरामा खेलकुदको विकास र पर्यटन प्रवर्द्धन दुवैलाई सुदृढ बनाउने यस प्रतियोगितामा आयोजकसहित ३ विदेशी र ८ स्वदेशी गरी १२ क्लबहरुको सहभागीता रहनेछ ।
उक्त टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लब र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् ।
त्यस्तै समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबीच प्रतिष्पर्धा हुने आइताबार(आज) आयोजित पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिएका छन्।
दोस्रो खेल माघ २८ गते बुधबार जाउलाखेल युथ क्लबविरुद्ध मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै माघ २९ गते विहीबार सशस्त्र प्रहरीको एपिएफ क्लब र मनाङमस्र्याङ्दीबीच प्रतियोगिता हुने र फागुन १ गते शुक्रबार फ्रेण्ड्स क्लबविरुद्ध प्लानिङ ब्वाईज युनाईटेड मैदानमा उत्रनेछ । पहिलो चरणको खेल जित्ने क्लब क्वाटरफाइनल चरणमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै यसपटक समूह ‘ए’ मा नेपाल पुलिस क्लब र थन्डरबोल्ट नर्थ युनाईटेड भारत तथा समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड र आभा एफसी उज्वेकिस्तान बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
२५औं संस्करणलाई थप गर्विलो बनाउन पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । यसपटक प्रतियोगिताको उपाधि जित्ने टोलीले १४ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७ लाख १ हजार रुपैयाँ हात पार्नेछ।
मुख्य प्रायोजकमा हिमश्री फुड्सको आहा!रारा तयारी चाउचाउ र पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने गोल्डकपलाई राष्ट्रिय खेलकुद परिषद (राखेप), अखिल नेपाल फुटबल संघ(एन्फा), प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।













